कुशल श्रेष्ठ
कुनै पनि चिकित्सकको कार्यालयमा प्रयोग हुने रोचक साधन भनेको ‘स्टेथेस्कोप’ नै हो। २०० वर्षदेखि स्टेथेस्कोपले डाक्टरको पहिचान गराउँदै आएको छ। चिकित्साविज्ञानको शिक्षा हासिल गरिसकेपछि एप्रोनमाथि घाँटिमा स्टेथेस्कोप राखेर हिँड्नुको शान पनि गज्जब कै हुन्छ। तथापी, चिकित्सा क्षेत्रमा अत्याधिक प्रयोग हुने यो साधनको विकल्पमा अहिेले विभिन्न किसिमका आधुनिक साधनहरू पनि निस्किसकेका छन्। यस्तै हुने हो भने, अबको केहि वर्षमा स्टेथेस्कोपको प्रयोग पूर्णरूपमा न्यून हुँदै जाने अमेरिकी हृदयरोगविशेषज्ञले अनुमान लगाएका छन्।
के हो स्टेथेस्कोप?
स्टेथेस्कोप एक चिकित्सा क्षेत्रमा प्रयोग हुने साधन हो, जसको मद्दतले कुनै पनि व्यक्तिको मुटुको धड्कन, श्वासप्रश्वासको गति र शरीरभित्र हुने क्रियाकलापहरूलाई सुन्न सकिन्छ। यसको एक छेउमा गोलो आकारको रेजोनेटर (Resonator) हुन्छ, जसले सानो आवाजलाई पनि ठूलो बनाउँदछ भने यसको अर्को छेउलाई कानमा राखेर उक्त आवाज सुन्न सकिन्छ।
स्टेथेस्कोपको बारेमा किन यति धेरै विवाद?
आजभोली, डिजिटल जमाना सँगै मुटु, फोक्सो, रक्तधमनी, मलाशयबाट निस्केको आवाजलाई पनि डिजिटलरूपमै सुन्न र हेर्न सकिन्छ। साथसाथै, त्यस आवाजलाई ठूलो बनाएर, छाँटकाँट गरेर अनि रेकर्ड गरेर पनि राख्न सकिन्छ। स्टेथेस्कोपको मद्दतबाट केवल आवाजलाई सुन्न सकिन्छ, तर अहिलेका साधनहरूले स्टेथेस्कोपकै प्रविधिलाई डिजिटलरूपमा परिणत गरेर आवाजलाई सुन्न मात्रै होइन, शरीरभित्रको अवस्थालाई पनि बुझ्न सकिन्छ। तर विवाद के कुरामा छ भन्दा, यस्ता आधुनिक प्रविधिले चिकित्साको क्षेत्रमा छुट्टै नयाँ साधनको प्रतिनिधित्व गर्नेछ कि पहिल्यै भएको उपयुक्त साधनको प्रयोगलाई पनि हटाउने काम गर्नेछ?
स्टेथेस्कोपलाई प्रतिस्थापन गर्ने नयाँ आविष्कार
आजभोली विकसित देशहरूमा स्टेथेस्कोपको सट्टा नयाँ ‘इकोकार्डियोग्राम्स’ (Echocardiograms) र ‘पकेट-साइज अल्ट्रासाउण्ड डिभाइस’ (pocket-sized untrasound device) को व्यापक प्रयोग हुँदै आइरहेको छ। र अझैपनि यस्ता आधुनिक साधनको सट्टा (जसले पहिलेको भन्दा उत्कृष्ट काम गर्न सक्छ) पुरानो स्टेथेस्कोपको प्रयोग किन गर्ने भन्ने बारेमा धेरैको प्रश्न रहेको छ। न्यूयोर्कको माउण्ट सिनाइ हस्पिटलमा कार्यरत हृदयरोगविशेषज्ञ ‘जगत नरुला’ भन्छन्, “स्टेथेस्कोपको जमाना गैसक्यो, या भनौँ मरिसक्यो!”
सन् २०१२ देखि, उक्त माउण्ट सिनाइ हस्पिटलले आफ्ना विध्यार्थीहरूलाई ‘पकेट-साइज अल्ट्रासाउण्ड डिभाइस’ (जुन साधारण मोबाइल फोनभन्दा थोरै ठूलो हुन्छ) को प्रयोग गर्न लगाइसकेको छ। यो डिभाइसको मद्दतले मानिसको मुटुको चित्रलाई जस्ताको तस्तै रूपमा हेर्न मिल्दछ। यसलगायत, अन्य हस्पिटलहरूमा पनि यस्ता आधुनिक साधनहरूको प्रयोग गर्न थालिसकेको छ।
के चिकित्साको अन्य क्षेत्रमा पनि स्टेथेस्कोपको प्रयोग हटाउँदा हुन्छ?
नरुला भन्छन्, “कार्डियोलोजीमा ‘अस्कल्टेसन’ (auscultation– सुन्ने काम) प्रक्रिया अनावश्यक छ र स्टेथेस्कोपको प्रयोगले चिकित्सक र बिरामी दुबैको समय खर्च हुने गर्दछ। अर्को कुरा, यदि ‘इकोकार्डियोग्राम’को आकार स्टेथेस्कोपको जत्रै छ भने, त्यसलाई किन प्रयोग नगर्ने?”
तर, विज्ञहरू भन्छन् कि स्टेथेस्कोपको सहायताले फोक्सो र मलाशयमा भएको गतिविधिलाई राम्ररी सुन्न सकिन्छ र रोगको पहिचान पनि गर्न सकिन्छ। जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनमा प्राध्यापक ‘रिड थम्प्सन’ भन्छन्, “जसरी शरीरको ध्वनीलाई सुनेर रोगको पहिचान गर्न सकिन्छ, त्यसरी नै भित्री अङ्गलाई चित्रमा हेरेर रोगको पहिचान गर्न सकिँदैन र यो लामो समयसम्म पनि सम्भव हुन सक्दैन।”
के स्टेथेस्कोपले चिकित्सकहरूलाई साँच्चीकै मद्दत गर्दछ त?
तर आजभोलीका डाक्टरहरूले राम्रोसँग स्टेथेस्कोपको प्रयोग गर्न सक्दैनन् भन्ने कुरामा दुवै पक्ष सहमत भएका छन्। सन् १९९७ मा गरिएको एक खोजले दुवै आन्तरिक चिकित्सक तथा पारिवारिक चिकित्सकहरूले १२ वटा हृदयको अवस्थालाई स्टेथेस्कोपको माध्यमबाट चिन्न सकेका थिएनन्। त्यस अनुसन्धानमा, ४५३ जना चिकित्सकहरू सहभागी भएका थिए। अर्को अनुसन्धानबाट के पुष्टि भएको थियो भन्दा, मेडिकल विध्यालय पढेको तेश्रो वर्षपछि डाक्टरहरूले अस्कल्टेसनको अभ्यासलाई बन्द गर्ने गर्दछन्।
हुन त, सर्वव्यापी प्रयोग गरिने स्टेथेस्कोपलाई प्रतिस्थापन गर्ने विकल्प विश्वभरी नै फैलिन समय लाग्न सक्छ। तर प्रविधिसँगै हरेक कुराको मुहार फेरिँदै जान्छ। जहाँसम्म नेपालको कुरा छ, यहाँका कतिपय चिकित्सकहरूलाई स्टेथेस्कोपकै प्रयोग पनि राम्रोसँग गर्न आउँदैन। तर स्टेथेस्कोपको क्षमतासँग अनभिज्ञ यी चिकित्सकहरूले सायद नयाँ प्रविधिलाई अँगाल्न सक्छन् कि?