कुशल श्रेष्ठ
‘मयूर’ शब्द संस्कृतबाट साभार गरिएको हो। हिन्दु धर्ममा ‘मयूर’ चरालाई पवित्र पक्षीको रूपमा मानिन्छ। विभिन्न हिन्दु ग्रन्थहरूमा पनि पवित्र चरा मयूरको व्याख्यान गरिएको छ।
हेर्दै सुन्दर देखिने मयूर चरा साँच्चै नै प्रकृतिको उपहार हो भन्न सकिन्छ। मयूरको रङ्गीचङ्गी प्वाँख धार्मिक उपचार विधीमा पनि प्रयोग गरिन्छ, साथै घर तथा मन्दिरलाई शुद्ध र चोखो राख्नको लागि मयूरको प्वाँखलाई प्रयोग गरिन्छ।
विष्णु पुराणको अनुसार, त्रीमूर्तिका एक अङ्ग भगवान विष्णुको वाहान ‘गरुढ’को प्वाँखबाट मयूरको उत्पत्ति भएको मानिन्छ।’गरुढ’ दैत्यको रूप मानिने विषालु साँपलाई हराउन सक्ने एकमात्र दैवी प्राणी हो। पुराणमा उल्लेख गरिएअनुसार, साँपलाई नै वध गर्नको लागि गरुढले आफ्नो प्वाँखबाट मयूरको सृजना गरेको मानिन्छ। जब मयूरले आफ्नो सबै प्वाँखलाई फिँजाएर नाच्न सुरु गर्छ, ती प्वाँखहरूमा भएको आकृतिले साँप लट्ठिन्छ। पुराणमा यसलाई ‘समयचक्र’ भनेर भनिएको छ।
हिन्दु धर्ममा मयूरलाई थुप्रै देवहरूको प्रतिक पनि मानिन्छः
- गरुढ देवले मयूरको उत्पत्ति गरेपछि, स्वस्थानी माताको एक रूप ‘कौमारी देवी’ले सो मयूरलाई असाध्यै मन पराएकी थिइन्। कौमारी देवीको वहान हो मयुर।
- पार्वती देवीको छोरा ‘कार्त्तिक’ (भगवान गणेशको दाई) ले पनि आफ्नो वहानमा मयूरलाई नै छानेका थिए। कार्त्तिकलाई ‘कुमार’ भनेर पनि चिनिन्छ। हिन्दुहरूको घरमा पुजा गर्दा सुरुमा गणेश र कुमारको पुजा गरिन्छ र गणेशलाई सुपारी अनि कुमारलाई मयूरको प्वाँख राखिने पनि चलन रहेको छ।
- महाभारतमा श्रीकृष्णले पनि आफ्नो शिरमा मयूरको प्वाँख राखेको पाइन्छ।
हिन्दु धर्मलगायत अन्य धर्महरूमा पनि मयूरलाई पवित्र मानिने गरिन्छ। मयूरलाई आस्था, निष्ठा र प्रतिज्ञाको प्रतिक मानिन्छ भने पवित्रता, अनुशासन र सुरक्षाको साक्षात प्रतिमूर्ति पनि मानिन्छ।
अध्यात्मवादमा पनि मन, मुटु र मस्तिष्कलाई शान्त पार्नको लागि मयूरको सुन्दरता र सकारात्मकताको मद्दत लिनको लागि आध्यात्मिक गुरुहरूले सल्लाह दिने गर्छन्।
ग्रीक-रोमन संस्कृतिमा पनि मयूरलाई ‘हीरा’ देवीको प्रतिक मानिन्छ। हीराले ‘आर्गस’बाट मयूरको सृजना गरेको यस संस्कृतिको पौराणिक कथाहरूमा भेट्न सकिन्छ। आर्गसका सय नयन (मयूरको प्वाँखमा देखिने आकृति)ले स्वर्गको खजाना र ताराहरूका आँखालाई जनाउँदछ।
क्रिश्चियन धर्ममा पनि मयूरलाई पवित्रता, अमरत्व, नवीकरण र पुनर्जन्मको रूपमा चिनिन्छ। काल्पनिक पक्षी ‘फिनिक्स’को पुनरुत्थान गरी आधुनिक पक्षी ‘मयूर’को सृजना गरेको घटना पनि कतिपय ग्रन्थहरूमा कथित छन्। साथै, सेतो रङ्गको मयूरलाई शान्ति, असत्यमाथि सत्यको विजय, जीवन अनि स्वर्गको प्रतिक पनि मानिन्छ।