कुशल श्रेष्ठ

सुन्दा अचम्म लाग्न सक्छ, तर दूधको परिकार मन नपराउने मानिसहरू पनि हुन्छन्। कसै-कसैलाई मन नपर्ने हुन्छ भने कसैलाई खानै नहुने पनि हुन्छ, मतलब खाएपछि उसको शरीरले दूग्ध पदार्थलाई पचाउन सक्दैन। तर यो दूधको एलर्जी भने होइन। यसरी शरीरले दूग्ध पदार्थलाई पचाउन नसक्ने अवस्थालाई चिकित्सकीय भाषामा ‘ल्याक्टोज इन्टोलरेन्स’ (Lactose Intolerance) भनिन्छ।

दूध तथा अन्य दूग्ध पदार्थहरूमा पाइने प्राकृतिक चिनी ‘ल्याक्टोज’लाई शरीरले पचाउन नसक्ने समस्यालाई नै ‘ल्याक्टोज इन्टोलरेन्स’ भनिन्छ। जब हाम्रो पाचनप्रणालीले ‘ल्याक्टोज’लाई पचाउन नसकी सीधै ठूलो आन्द्रामा पठाउँछ, तब यसले असहज समस्या निम्त्याउँछ, जस्तै; ग्यास्ट्रिक हुने, पेट दुख्ने तथा पेट फुल्ने। यस्तो समस्या भएका कतिपयले दूग्ध पदार्थलाई पचाउनै सक्दैनन् भने कसै-कसैले थोरै मात्रामा मात्रै पचाउन सक्छन्।Do You Get Problems When you drink Milk Products

कसरी हुन्छ ‘ल्याक्टोज इन्टोलरेन्स’? कारण के-के हुन्?

जब हाम्रो पेटमा भएको सानो आन्द्राले पर्याप्त मात्रामा ‘ल्याक्टेज’ (Lactase) नामक इन्जाइम उत्पादन गर्न सक्दैन, तब हामीलाई ‘ल्याक्टोज इन्टोलरेन्स’ भएको भन्दछौँ। हामीले खाएको दूग्धपदार्थमा हुने ‘ल्याक्टोज’ पदार्थलाई टुक्र्याएर पचाउने काम ‘ल्याक्टेज’ नामक इन्जाइमले गर्दछ, जुन सानो आन्द्रामा हुन्छ।

शल्यक्रिया– यदि पेटको समस्याले लामो समयसम्म सताएको थियो भने त्यो समस्याको उपचारपश्चात त्यस व्यक्तिलाई यस्तो समस्याले सताउने सम्भावना बढि हुन्छ। त्यसैगरी यदि कसैले सानो आन्द्राको शल्यक्रिया गरेको थियो भने पनि उसलाई ल्याक्टोज इन्टोलरेन्स हुन सक्दछ, र यो स्थायी अथवा अस्थायी दुवै हुन सक्दछ।

जन्मजात– कसै-कसैलाई (१०० मा १ जनालाई) जन्मदेखि नै ल्याक्टोज इन्टोलरेन्स हुने गर्छ। यस्ता व्यक्तिहरूले ल्याक्टोज पदार्थ मिसाइएका कुनै पनि खानेकुरा खान वा पिउन सक्दैनन्।

अपरिपक्व शरीर– कुनै-कुनै नवजात शिशुहरूमा पनि यस्तो समस्या देखा पर्ने हुन्छ, जसको कारण उसले आमाको दूध पिउन सक्दैन। यसको मूख्य कारण भनेको आमाको गर्भमा हुँदा आमाको हेलचेक्र्याईँलाई मानिन्छ। यदि गर्भवती आमाले पर्याप्त मात्रामा फलाम र क्याल्सियमको सेवन गर्दैन भने उसको बच्चामा यस्तो खालको समस्या उत्पन्न हुने चिकित्सकहरू बताउँछन्।

वंशाणुगत गुण– कुनै-कुनै व्यक्ति वंशाणुगत गुणबाट ल्याक्टोज इन्टोलरेन्सको समस्या सरेर आएको हुन सक्छ। यस्ता व्यक्तिहरूले थोरै मात्रामा मात्रै दूग्धपदार्थ पचाउन सक्ने हुन्छन्।

मलाई दूध मनपर्दैन, तर ल्याक्टोज इन्टोलरेन्स नै भएको हो भनेर कसरी थाहा पाउने?

ल्याक्टोज इन्टोलरेन्सका लक्षण तथा सङ्केतहरू साधारण देखि गम्भीर सम्म हुन सक्छन्, यो सबै व्यक्तिको शरीरले कति मात्रामा ‘ल्याक्टेज’ इन्जाइम उत्पादन गर्दछ भन्ने कुरामा भर पर्दछ।Lactose_Intolerant_How_do_you_know_that!

साधारणतयाः दूध तथा दूग्धपदार्थ सेवन गरेको ३० मिनेटदेखि २ घण्टासम्म यसको लक्षण देखा पर्दछ। यदि तपाईँलाई ल्याक्टोज इन्टोलरेन्स भएको छ भने तपाईँमा निम्न लक्षणहरू देखा पर्न सक्दछन्–

  • पेट फुल्ने
  • पेटको तलको भाग घोँचेको जस्तो भएर दुख्ने
  • पेटमा गड्याङ्गुडुङ आवाज आउने
  • ग्यास्ट्रिक हुने, पाद आउने
  • पातलो दिसा आउने अथवा झाडापखाला हुने
  • कसै-कसैलाई बान्ता समेत हुने

तथापी, दूध पिउने बित्तीकै ग्यास्ट्रिक भयो भन्दैमा, पेट दुख्यो अथवा फुल्यो भन्दैमा ‘ल्याक्टोज इन्टरोलरेन्स’ भएकै छ भन्नु गलत हुन सक्छ। त्यसैले यसको जाँचको लागि–

  • सुरुमा, १ दिनसम्म दूग्ध पदार्थ नखाई पेट दुख्ने अनि ग्यास्ट्रिकको समस्या हट्छ या हट्दैन विचार गर्नुहोस्।
  • यदि त्यो समस्या हट्यो भने, अब १ गिलास दूध पिउनुहोस् र फेरि त्यस्तै लक्षणहरू देखा पर्छन् या पर्दैनन् विचार गर्नुहोस्।
  • यदि १ गिलास दूध एकपटक पिउँदा मात्रै लक्षण देखा पर्यो तर अर्को पटक पिउँदा देखा परेन भने तपाईँलाई ‘ल्याक्टोज इन्टोलरेन्स’ छैन भनेर बुझ्नुहोस्।
  • तथापी, हरेक पटक दूध पिउँदा उस्तै लक्षण देखा पर्यो भने तपाईँलाई ‘ल्याक्टोजन इन्टोलरेन्स’ छ भनेर बुझ्नुहोस्।

यसको उपचार कसरी गर्ने? के यसको उपचार गर्न मिल्छ?

यदि तपाईँलाई ‘ल्याक्टोज इन्टोलरेन्स’ छ भनेर पक्का हुनुहुन्छ भने यति कुरा जान्नुहोस् कि यसको कुनै उपचार हुँदैन। तैपनि एकटपक चिकित्सकसँग बुझ्नु आवश्यक हुन्छ, किनकी उनीहरूले यो लक्षण ल्याक्टोज इन्टोलरेन्सबाटै आएको हो कि अन्य कुनै समस्याबाट उत्पन्न भएको हो भनेर जाँच गर्नेछन्।

यस्तो समस्याबाट ग्रसित कुनै-कुनै व्यक्तिहरूलाई दही खाँदा कुनै समस्या देखा पर्दैन, त्यसैले एकपटक दही खाएर पनि विचार गर्नु उचित हुन्छ।

ल्याक्टोज इन्टोलरेन्स हुने व्यक्तिहरूको लागि सबैभन्दा चुनौतीपूर्ण कुरा भनेको ‘क्याल्सियम’ कसरी सेवन गर्ने, जुन दूधमा पाइन्छ! क्याल्सियम भनेको बालकदेखि लिएर वृद्धासम्म सबैलाई अत्यावश्यक पर्ने पौष्टिक तत्व हो। यसले हाम्रो हाडजोर्नीलाई बलियो बनाई दाँतको स्वास्थ्यमा पनि महत्वपूर्ण भूमीका खेलेको हुन्छ।

क्याल्सियम पाइने अन्य खानेकुराका स्रोत पनि छन्, जस्तै;

  • ब्रोकाउली, भिण्डी, कुरीलो
  • माछा
  • सोयाबीन
  • बदाम

त्यसैले आफ्नो शरीरमा क्याल्सियमको मात्रा पर्याप्त गराइराख्नका लागि यी खानेकुराहरू नियमित खाने बानी बसाल्नुपर्दछ।

यो पनि हेर्नुहोस्-
“अरूलाई भन्दा बढि मलाई नै लामखुट्टेले किन टोक्छ?”- जिज्ञासा
रजस्वला ढिलो हुन्छ? नियमित रजस्वलाको लागि घरेलु तथा प्राकृतिक उपायहरू
गर्मीमा अण्डा खानु राम्रो कि नराम्रो ?
पसिनाले निम्त्याउने दुर्गन्धलाई यसरी टाढा गर्नुहोस्
गर्मी महिनामा बढि थकाई लाग्नुका पछाडि यस्ता छन् कारण