कुशल श्रेष्ठ
टाउको दुख्नु सबैको साझा समस्या हो। कसैलाई धेरै धपरीको कामले टाउको दुख्छ भने कसैलाई धेरै टेन्सनले टाउको दुख्छ। अहिले त यसै पनि गर्मीको मौसम छ, धुँवा धूलो र प्रदूषणले नेपालको वायुमण्डल ढाकेको छ। यस्तो बेलामा जोकोहीलाई पनि टाउको दुख्नु भनेको सामान्य कुरा हो।
तथापी, टाउको दुखाई पनि थरी-थरीका हुन्छन्। टेन्सन, धुँवा धूलो अनि थकानको टाउको दुखाई र आन्तरिक समस्याको टाउको दुखाईमा धेरै अन्तर पाइन्छ। मानिसहरूले यहि कुरामा फरक छुट्याउनमा चुक्ने गर्छन्। कतिपयले माइग्रेनलाई सामान्य टाउको दुखाई भनि हेलचेक्र्याईँ गर्ने गर्छन्, किनभने यसको सुरुवाती चरणहरूमा त्यति साह्रो दुख्ने गर्दैन। अनि कतिपयले सामान्य टाउको दुखाईलाई नै माइग्रेन भन्ठानेर कडा-कडा औषधीको सेवन गर्ने गर्छन्।
‘माइग्रेन’ समस्याबाट गुज्रनेको टाउको दुखाई र सामान्य अवस्थाको टाउको दुखाईमा फरक यत्ति हुन्छ कि माइग्रेनले मानिसलाई एकछिनसम्म पागलसरह नै बनाउँछ। यस्तो लाग्छ कि ‘अब मेरो टाउको फुट्छ!’ न आँखा उघारेर हेर्न सकिन्छ, न त कसैले बोलेको सुन्न मन लाग्छ। न अन्धकारमा बस्न सकिन्छ, न उज्यालोमा।
‘टाउको दुखाई’ सम्बन्धी ‘विश्व स्वास्थ्य संघ’को आँकडालाई हेर्ने हो भने, विश्वभरीका करीब ३०% भन्दा बढि मानिसहरूलाई माइग्रेनले ग्रस्त बनाइरहेको छ, र अझसम्म यसको स्थायी समाधान फेला पर्न सकेको छैन।
सबैले यो कुरा बुझ्नु आवश्यक छ कि ‘माइग्रेन भनेकै टाउको दुखाई हो, तर एकदम भयङ्करको टाउको दुखाई। तर सबै टाउको दुखाई माइग्रेन होइन।’ माइग्रेन र टाउको दुखाईलाई थुप्रै कारकतत्वहरूबाट छुट्याउन सकिन्छ, जस्तै; कानभन्दा माथिको भाग मुटुको धड्कनजस्तै जोडसँग बल्किनु।
माइग्रेनलाई सामान्य टाउको दुखाईसँग छुट्याउने निम्न कारकतत्वहरू छन्–
- माइग्रेनको टाउको दुखाईले अधिकांश समयमा रिँगटा लगाउने र बान्ता गराउने समस्या ल्याउँदछ।
- माइग्रेनको टाउको दुखाई सामान्य देखि गम्भीरसम्म हुन सक्छ।
- कुनै शारीरिक गतिविधि अथवा हलचलले टाउको दुखाईको मात्रामा ह्वात्तै बढ्न थाल्दछ।
- चर्को होस् या मधुरो, बत्ती अनि उज्यालोले टाउको चड्किने गर्दछ, जसलाई ‘फोटोफोबिया’ भनिन्छ।
- त्यसै गरी चर्को आवाजसँग पनि माइग्रेनले चाँडो प्रतिक्रिया गर्दछ र रिस उठ्ने हुन्छ, जसलाई ‘फोनोफोबिया’ भनिन्छ।
- माइग्रेनको टाउको दुखाई कम्तीमा ४ घण्टा र बढिमा ७२ घण्टासम्म चलिरहन्छ। कसै-कसैलाई १ हप्तासम्म पनि टाउको दुखेको पनि पाइन्छ।
यदि कसैको टाउको दुखाईमा उक्त सङ्केतहरू देखिएको छैन भने, उसको टाउको दुखाई माइग्रेन नभएर सामान्य टेन्सन अथवा अन्य कारणले भएको भन्ने बुझिन्छ।
माइग्रेनबाट पीडितलाई एउटा सानो सुझाव–
यदि तपाईँलाई माइग्रेन छ र शक्तिशाली पेनकिलरको सहारा लिनुहुन्छ भने तपाईँले गलत बाटो अपनाइराख्नुभएको छ। यस्ता महङ्गा अनि शक्तिशाली पेनकिलरले तपाईँको टाउको दुखाई कम त गर्छ, त्यसमा कुनै दुईमत छैन। तर तपाईँलाई त्यसले अर्को कुरामा एकदमै घाटा गरिरहेको हुन्छ। शक्तिशाली पेनकिलरले तपाईँको कलेजोमा प्रत्यक्ष असर गरिरहेको हुन्छ, सायद मद्यपानले भन्दा बढि! तपाईँले जति आफ्नो औषधीको डोज र पावर बढाउँदै लैजानुहुन्छ, तपाईँको टाउकोले झन् बढि शक्तिशाली औषधीको आकाङ्क्षा गर्दछ।
त्योभन्दा राम्रो उपाय भनेको घरेलु विधि अपनाउनु नै हुन्छ। हामीले पहिल्यैको अंकमा पनि माइग्रेनलाई कम गर्ने घरेलु उपायहरूको बारेमा उल्लेख गरिसकेका छौँ। जसमा कागती, ल्वाङ्ग, अदुवालगायत अन्य थुप्रै प्राकृतिक उपायहरू पर्दछन्।