हेमन्त गिरी

दशैं भर्खरै सकियो । दशैं मनाउने प्रत्येक नेपाली घरहरुमा यसपाली पनि एउटा आशिष पक्कै प्राथमिकताका साथ दोहोरियो होला,”बाबु,डाक्टर भएस्” । मान्यजनले दशैंमा दिने अशिषहरु मध्ये सबै भन्दा प्राथमिकतामा पर्ने महत्वपुर्ण आशिष हो यो । आउनोस, यो आशिषको अन्तर्यमा जाऊँ ।

यो आशिष यश्, प्रतिश्ठा, सम्मान र समृद्धिको प्रतिकको रुपमा मान्यजन बाट आफ्ना कनिजहरुलाई दिइन्छ । सरसर्ती हेर्दा सामन्य देखिए पनि यो आशिष भित्र दुई शब्दलाई बढी जोड दिइएको छ । डाक्टर अनि बाबु । नत्र यो लेखको शिर्षक ‘डाक्टर भएस नानि’ पनि हुन सक्थ्यो । तर डाक्टर नानी होइन बाबु नै बन्नु पर्छ ,नानी त बरु नर्स बन्नुपर्छ भन्ने मान्यताले जबर्दस्त रुपमा जरो गाडेको अवस्था हामी सामु बिद्यमान छ ।

आशिषको भाव आफैमा दुराशय युक्त कहिल्यै हुँदैन,आशिष सधै सदाशयपूर्ण नै हुन्छ । तर कहिलेकाहिं आशिष चलनको रुपमा प्रयोग भैदिन्छ र चलन, समयानुसार फेर्नुपर्ने पनि हुनसक्छ ।

उदाहरणको लागी दशैं मै प्रयोग हुने ‘सन्तानले डांडाकांडा ढाकून्’ भन्ने अर्को आशिषलाई लिन सकिन्छ । तर ‘डाक्टर भएस बाबु’ फेर्नै पर्ने आशिष चाहिं होइन, बस यस भित्रको मान्यताको बारेमा बहस चाहिं गर्न सकिन्छ ।

नि:सन्देह डाक्टर आजको युगमा सबै भन्दा सम्मानित र आर्थिक रुपले सुरक्षित पेशा हो । किनकी यो स्वास्थ्यसंग जोडिएको पेशा हो । आफ्नो जीवनलाई इश्वरको सृष्टि मान्ने मान्छेले त्यही जीवन रक्षा गरिदिने डाक्टरलाई इश्वर भन्दा कम ठान्दैन । यसर्थ यो आशिष भित्र मानव जीवन नै जोडिएको छ भन्दा फरक पर्दैन ।

तर कुरा फेरी पनि चलनकै हो र सो चलन भित्र डाक्टर र बाबु शब्द एक अर्काका पुरकको रुपमा प्रयोग गरिंदै आएको तर ख्याल नगरिएको यथार्थ प्रतिको टिप्पणी हो यो ।

बोल्न जान्ने भए देखिका नानी बाबुलाई सोध्नोस्, ‘तिमी ठूलो भएर के बन्ने’ ? फ्याट्ट उत्तर आउँछ, ‘डाक्टर बन्ने’ । एक अक्षर पनि नपढेका हजुरबा-हजुरआमाले ना-नातिना खेलाउंदा प्रयोग गरेका वाक्य सुन्नोस्, ‘मेरो नाती डाक्टर बन्छ्’ । पढेलेखेका बाबुआमाले आफ्ना छोराछोरिलाई फकाएको हेर्नोस्, ‘म मेरो बाबु-नानिलाई जे भन्यो त्यही ल्याइदिन्छु, फटाफट होमवर्क गर्छ्, धेरै पढ्छ अनि डाक्टर बन्छ्’ ।

थाहा छैन ति सम्पुर्ण बाबु नानी मध्ये कती डाक्टर बन्छन पछी गएर, बिशेष गरी कती नानिहरु डाक्टर बन्छन ति मध्ये । तर पढेका देखी अनपढ सम्मले बुझेका छ्न, डाक्टर भए पछी जीवन सहज बन्छ्, मान सम्मान हुन्छ, प्रतिष्ठा हुन्छ ।

त्यसैले त प्रत्येक दशैंमा हरेक घरमा एउटै आशिष प्राथमिकताको साथ गुन्जिन्छ,’बाबु, डाक्टर भएस्’ ।

तर के यो आशिष भित्र ‘बाबु, गोबिन्द केसी जस्तो डाक्टर भएस्’ भन्ने अभिप्राय छ त ? पक्कै छैन ।govinda-kc-1195579

शहरमाझ एक आलिशान महल भएको, गाडी भएको, नोकरचाकर भएको, खाइलाग्दो, सबैले जी हजुर गर्दै लम्पसार पर्ने एउटा तेजस्वी डाक्टरको परिकल्पना छ यो आशिष भित्र ।

एउटा यस्तो डाक्टर जो हेर्दै भगवान जस्तो लागोस्, उसको दर्शन पाउंदा मात्र पनि आधा बिमार सन्चो भएको परोस्, जो थोरै बोलोस्, थोरै हाँसोस्, गमक्क फुलोस्, नर्सहरु थर्कमान होउन्, बिरमीलाई तपाइं जान्ने कि म जान्ने भनेर हप्काओस्, अनी फटाफट रुपियाँ बुझेर त्यो थुपार्न बैंक तिर लम्कोस्, हो यस्तै रवाफिलो डाक्टरको परिकल्पना छ यो आशिष भित्र ।

अतिरन्जना भन्ने अर्थ नलागोस्, म हाम्रा मान्यता र ति मान्यतालाई हामीले जबर्दस्त रुपमा चलन बनाइरहेका यथार्थहरुलाई औंल्याउने कोशिष गर्दैछु । नपत्याए तपाईं आफै भन्नोस त डाक्टर भन्ने बित्तिकै तपाईं हाम्रो दिमागमा कस्तो चित्र बन्छ ? औषधिको झोला बोकेर राप्ती भेरी तर्दै गरेको, कर्णालीका मान्छेसंग हाँसो साट्दै गरेको गोबिन्द के सी को जस्तो चित्र बन्छ त ? पक्कै बन्दैन ।

एउटा अति ब्यस्त, टन्न पैसा कमाउने, बिरामीसंग बोल्न नि नभ्याउने, मेडिकल कलेज अस्पताल वा क्लिनिकको मालिक- डाक्टरकै चित्र आउंछ । र यो हाम्रो स्थापित मान्यता हो ।

डाक्टर बनिसकेका र बन्न प्रयास गर्दै गरेका ती सम्पूर्ण होनहारहरुको सम्मानमा म यो लेख्दैछु, अपमान र तेजोवध किमार्थ होइन । स-सानो, दुर्वल मगजले डाक्टर बन्ने सपना नै देख्दैन ।

हो, दशैंमा आशिष पाउने छुट सबलाई छ, तर त्यो मात्र डक्टर बन्छ जो संग लगन्, मेहनत, धैर्यता, अठोट र धेरथोर प्राकृतिक तिक्ष्णता पनि छ । प्राय कक्षामा उत्कृष्ठ केही मध्येबाटै पछी गएर डाक्टर बन्छन्, सबै बन्दैनन ।

कक्षाका ती केही उत्कृष्ठ हरु प्राय: सबै कुरामै अब्बल हुन्छन पढाइमा, लेखाइमा, अनुशासनमा, सहयोगी र सेवाभावमा सबैमा । तर अस्पताल जाँदा हामी ती स्कूलका कुनै बेलाका अब्बलहरुको धेरै गुणमा कमी पाउंछौं ।

अक्षर उ बेला जस्ता हुंदैनन्, शिष्ट्ता उ बेला जस्तो हुँदैन, सेवाभाव कम ब्यापारी प्रवृती बढी देखिन्छ, बोली रुखो बनेको पाइन्छ, अनी आफु सामान्य मान्छे भन्दा धेरै माथिको हुँ भन्ने अहमले काम गरिरहेको पाइन्छ ।

यि र यस्तै ब्यबहार अरुका हुन्थे भने सामान्य लाग्दा हुन तर कुनै समय स्कूलका उत्कृष्ठहरु बाट अपेक्षा त्यो भन्दा बढी हुन्छ । सबै डाक्टर यस्ता छन त्यो भन्न कदापी खोजिएको होइन, तर धेरै यस्ता छन त्यसमा दुई मत छैन ।

डाक्टरी पेशा सेवाको पेशा हो, ब्यापारको होइन । तर हाम्रा अग्रजहरुले डाक्टर भएस भनेर दिने आशिषमा सेवा गरेस भन्ने भन्दा नि पैसा कमाएस भन्ने सदिक्षा बढी छ ।

बिरामीको नजर बाट हेर्नुहुन्छ भने डाक्टरको मिठो बचनले बिरामीले आफ्नो आधा बिमार कम भएको अनुभुती गर्छ, र त्यो मैले पनि गरेको छु । के यो कुरा डाक्टरले नबुझेका होलान ? बुझेको भए सरकारी अस्पताल र प्राइभेटमा उहि डाक्टरको बोली ब्यबहार किन फरक बहेको होला ?

शिक्षा र स्वास्थ्य अत्यन्त संबेदनशिल क्षेत्र हुन्, नागरिकका मौलिक हकका क्षेत्र हुन । एउटा सिक्षकलाई बिद्यार्थीसग मित्रवत ब्यबहार गर्न बिभिन्न अभिमुखिकरण तलिमहरु दिइन्छ, डाक्टर लाई पनि दिइंदो हो । तर बिरामीले किन अनुभुत गर्न पाउंदैन ? सायद हाम्रा अग्रजको आशिषको वजनले गर्दा एउटा चिकित्सकले आफुलाई सामान्य मान्छे भन्दा पृथक हुं भन्ने आभाष दिलाएकोले हुनु पर्छ ।

डाक्टरका आफ्ना अफ्ठ्यारा छैनन्, त्यो पटक्कै होइन । निजी जीवन नै चौपट हुने गरी मेहनत र स्वास्थ्य सेवा गरिरहेका डाक्टर पनि छन् । जो सदैब सबैका श्रद्धाका पात्र छन्, तर जिविकोपार्जन संगै जोडिएको सेवाको पाटोमा धेरै डाक्टरहरु चुकेको देखिन्छ । यो लेखको आशय ती सम्पूर्ण तिक्ष्ण, उत्कृष्ठ स्कूले बिद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्वको पाटोमा घच्घच्याउनु मात्र हो ता कि अग्रजको आशिषले सामान्य आग्रह भन्दा धेरै माथी उठेर काम गरोस ।

नत्र त भनिहालियो,सामान्य मान्छे डाक्टर बन्दै बन्दैन, जो संग असामान्य र अब्बल क्षमता छ, ऊ पेट पाल्ने वा पैसा थुपार्ने सामान्य चल्तिको आशिषको लेभल भन्दा माथी उठ्नै पर्छ ।

अर्को प्रसंग । म एउटा रमाइलो प्रश्न साथिभाइलाई सोध्ने गर्छु ।  ‘सिद्ध बाबाबाट बस खस्यो, बाबु छोरा परे, बाबुको तत्कालै निधन भयो, घाइते छोरालाई अस्पताल लगियो, डाक्टरले घाइते देख्ने बित्तिकै ‘अरे ! यो त मेरो छोरा हो’ भन्यो, किन होला ?” ।

धेरै साथीहरुले डाक्टर घाइते केटाको काका भएकोले, मितबा भएकोले, ठुल्बा भएकोले जस्ता उत्तर दिन्छन । डाक्टर आमा भएकोले भनेर कमैले भन्छन् । यो हाम्रो मानसिकताको उपज हो । हाम्रो आशिषको प्रभाव हो । हामीलाई अझै पनि डाक्टर भनेकै पुरुष हो भन्ने लाग्छ ।

लाग्ने मात्र होइन, सानोमा संगै राखेर एउटै आशिष दिएका दाजु बहिनी मध्ये एसएलसी पश्चात दाजुलाई डाक्टर बन्न प्रोत्साहन गरिन्छ भने बहिनीलाई ‘नर्सिङ पढ्, डाक्टरले बिहे गरिहाल्छ नि’ भनिन्छ । आशिष सधैलाई कायम रहन्न भने त्यो दिने किन ?

अब निस्कर्षमा जाऊँ । म स्वास्थ्य क्षेत्रको मान्छे होइन । यो लेख पढेपछी धेरैलाई लाग्न सक्छ्, सरोकार नै नभएको बिषयमा हेमन्तले किन लेख्यो । जवाफ छ म संग-म बिरामी हुँ, अस्पताल गैरहन्छु, कृयाकलाप नियालिरहन्छु । मेरो नजरमा डाक्टर धेरै उत्कृष्ठ पेशा हो, चल्तिको भन्दा धेरै उत्कृष्ट, जीविकोपार्जन वा पैसा थुपार्ने पेशा भन्दा धेरै माथिको सामाजिक उत्तरदायित्व सहितको पेशा ।

त्यसैले त समय खर्चेर यती धेरै लेख्नु पर्यो । अग्रजलाई पनि बिनम्र निबेदन छ, जो जे बन्छ त्यही बन्न दिनोस । सबैलाई डाक्टर बन्ने आशिष नदिनोस् । तपाईका आशिषमा आग्रह देखेर कुनै जीवनले आफ्नो बाटो नभेटाएर नभौंतारियोस । दिनै परे पनि डाक्टर पैसा कमाउने पेशा हो भन्ने अर्थ बुझाएर नदिनोस् ।

सकेसम्म अब ‘डाक्टर भएस नानी’ भन्नुहोस् । अरुका कुरा सुन्ने, भावना बुझ्ने मान्छे डाक्टर भएको राम्रो हुन्छ् र त्यो गुण महिलामा बढी हुन्छ । त्यसैले अब आशिषको सार बदल्नोस्, मिल्छ भने त आशिश नै बदल्नोस । अस्तु: