१६ चैत, ललितपुर ।

नेपाली कांग्रेसका युवा नेता एवं स्वास्थ्य मन्त्री गगन थापाले अवको १३ वर्ष पछि राजनीति छोड्ने बताएका छन् ।

फाइल तस्बिर

ललितपुरमा भएका राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री थापाले १३ वर्षपछि आफूले सकृय राजनीति नगर्ने बताए ।

अबको एक दशकपछि नेपालको राजनीति अहिलेको पुस्ताको हातबाट उम्किने उनको भनाई थियो ।

‘हामी ढुंगा हानेर आएको पुस्ताले एक दशकपछिको राजनीति हाँक्न सक्दैन,’ उनले भने, ‘नयाँ पुस्ताले पक्कै पनि नेतृत्व लिन्छ ।’

थापाले आफू पनि अबको १३ वर्षमात्रै सक्रिय राजनीति गर्ने बताए । ‘१३ वर्षसम्म मेरो ल्याकतले भ्याएसम्म देश र जनताका लागि गर्छु,’ उनले भने, ‘त्यसपछि मैले बिश्राम लिने हो ।’

दीगो विकास लक्ष्यबारे छलफल गर्न नेपाल युवा संस्था सञ्जाल (आयोन)ले राष्ट्रिय युवा सम्मेलन २०१७ आयोजना गरेको हो । सम्मेलनमा देशभरका ५ सयभन्दा बढी युवा सहभागी थिए ।