३१ वैशाख, नयाँदिल्ली ।

भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेहरुको यो सङ्ख्या भारतको मध्य प्रदेशको मात्रै भएको एक जना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिए।
मध्य प्रदेश शिक्षा बोर्डले लिएको कक्षा १० र कक्षा १२ को परिक्षामा सन्तोषजनक नतिजा नआएकाले उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्ने मध्ये तीन जना एउटै बाबु आमाका सन्तान भएको बताइएको छ । भारतको सात्ना जिल्लाको छतरपुर, गुना, इन्डोर, बालाघाट, ग्वालिएर, टिकाम्गार्हा, भिन्द, जवालपुर र भोपाल जिल्लामा घटना भएको प्रहरीको भनाइ छ ।

उनीहरु मध्ये कतिपय विद्यार्थीले घरको ‘सिलिङ फ्यान’मा झुण्डीएर आत्महत्या गरेका र कतिपयले विषालु पदार्थ खाएर आत्महत्या गरेको अनुसन्धानबाट पुष्टी भएको छ ।

“मृत्यु भएकाहरुको शव शव परीक्षणका लागि पठाइएको छ,” एक प्रहरी अधिकारीले भने । परीक्षाको नतिजा नराम्रो आएपछि यसरी आत्महत्या गर्ने घटना भारतमा यसअघि पनि हुने गरेको छ ।

प्रदेशस्तरिय परीक्षामा राम्रो नतिजा ल्याउन बाबुआमाहरुले अतिधेरै दवाव दिनेगरेकाले राम्रो नतिजा नआएपछि विद्यार्थीहरुले आत्महत्या गरेका हुन् ।

पश्चिमी राजस्थान प्रदेशको कोटा सहरमा पछिल्लो पाँच वर्षमा मात्रै ७० भन्दाबढी विद्यार्थीले यस्तै अपेक्षित नतिजा नआएपछि आत्महत्या गरेका थिए ।