४ जेठ, काठमाडौं ।

सरकारले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले मधेस केन्द्रीत दलहरुले उठाएका माग सम्बोधन गर्ने क्रममाा थरुहट र मधेस आन्दोलनमा संलग्नहरु विरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

सरकारले स्थानीय चुनावको सन्दर्भमा मारिएका दुई जनालाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

काभ्रेको नमोवुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गरिएको हो । सरकारले उनीहरुको छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ । सरकारले सेना तथा प्रहरीले सञ्चालन गरेका स्वास्थ्य संस्थामा आम नागरिकलाई सेवा दिने निर्णय पनि गरेको छ ।