राष्ट्रपतिका आफन्तले पनि गुमाए ज्यान

६ असोज, नैरोबी । केन्याको राजधानी नैरोवीमा रहेको एक व्यापारिक केन्द्र (सपिङ मल) मा शनिबार भएको आक्रमणमा परी मारिनेको सङ्ख्या ३९ पुगेको बताइएको छ ।

उक्त मलमा किनमेलका लागि गएका सर्वसाधारण उक्त गोलीको शिकार भएका बताइएको छ । प्राप्त समाचारमा उक्त गोलीकाण्डमा परी अरु कम्तीमा पनि १५० व्यक्ति घाइते भएका जनाइएको छ ।

आइतबार बिहानसम्म पनि सो मलमा रहेका सोमालियाली विद्रोही समूह अल सेबाबका लडाकू र केन्याली सैनिकबीच भिडन्त भइरहेको छ ।

उक्त घरमा समोलियाली विद्रोही समूहले शनिबार अपराह्न अकस्मात आक्रमण गरेका थिए । राजधानी नैरोवीको सो केन्द्रमा एकजना विदेशी व्यक्तिले गोली चलाएको पाइएको प्रहरीले त्यहाँका अधिकारीले जनाएका थिए ।

तर उक्त मलमा दर्जनौँ विद्रोही लुकी बसेका र अपराह्नदेखि आक्रमण थालेका पाइएको छ । शनिबार साँझ सो क्षेत्रमा केन्याली सैनिकले घेरोहाली कारबाही थालेको थियो ।

उक्त स्थानमा हिजो नै अरु कयौँ नागरिकको हताहति भएको अनुमान गरिएको थियो । केन्याको रेडक्रस सोसाइटीले घाइतेको उपचारका लागि रक्तदान गर्न हिजो नै सबैलाई आग्रह गरेको थियो ।

वेस्टगेट नामक सो मलमा आफूहरूले आक्रमण गरेको सोमालियाली उक्त समूहले जनाएको छ । उक्त समूह सोमालियामा अल कायदाको सहयोगी समूहका रुपमा कार्यरत रहेको पाइएको छ ।

गोली लागि अहिलेसम्म ३९ जनाको ज्यान गएको छ । ती शवहरू उक्त भवनको वरिपरि छरिएर रहेका पनि समाचारमा जनाइएको छ ।

त्यहाँ मारिनेमा दुई जना क्यानाडेली नागरिक रहेको पनि बताइएको छ । बाँकी सबैको पहिचान खुलिसकेको छैन । त्यस घटनालाई केन्याको सुरक्षा निकायले पनि पूरैरुपमा नियन्त्रणमा लिन सकिरहेको छैन ।

आइतबार बिहानसम्म पनि त्यहाँ केन्याली सुरक्षाकर्मी तथा सर्वसाधारण पनि त्यहाँ रहेका छन् । उनीहरूको सुरक्षाको हिसाबले पनि सैनिकले कारबाही गर्न सकिरहेको छैन ।

केन्याका राष्ट्रपति उरु केन्याताले आफूले पनि आफ्नो परिवारका सदस्य सो वेष्टगेट हमलामा गुमाएको बताउँदै शान्त रहन देशवासीमा आग्रह गरेका छन् । उनले यस विषयमा थप अनुसन्धान एवं कारबाही जारी रहेको जानकारी सो सन्देशमा दिएका छन् ।

उनले देशमा आतङ्कवादले हमला गरेकाले त्यसविरुद्ध लड्न सक्ने प्रसस्त क्षमता आफूहरूको रहेकाले शान्त र संयम रहन समग्र देशवासीलाई आग्रह गर्नुभएको छ । एएफपी