१२ भदौ, कञ्चनपुर । भारतीय नागरिकको कुटाइबाट कञ्चनपुरको दोधारा-१ कञ्चभोजका १९ वर्षीय अन्नु गुरूङ घाइते भएका छन् ।

मङ्गलबार साँझ सीमावर्ती क्षेत्रमा गोठाला गएका गुरूङलाई बिना कारण भारतीय एक दर्जनको सङ्ख्यामा रहेका व्यक्तिले हाम्रो सीमा क्षेत्रमा आएर गाईगोरू चराउने भन्दै निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएर छाडेर गएको स्थानीय हीरा थापाले बताए ।

गम्भीर घाइते गुरुङ हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको र उनको कानमा चार वटा टाँका लगाइएको छ । स्थानीय निजी मेडिकलमा गुरुङको उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय दोधारामा यसबारे उजुरी दिन जाँदा अन्तर्राष्ट्रिय मामिला भन्दै उजुरी दर्ता नगरी पठाइएको स्थानीयले बताएका छन् । रासस