Manakamana२० साउन, गोरखा । प्रसिद्ध धार्मिक शक्तिपीठ मनकामना मन्दिरको पुनःनिर्माणको काम थालनी भएको छ ।

मन्दिर पुनःनिर्माणका लागि चाहिने काठ, सुर्की (चुन सिमेन्टको सट्टा प्रयोग गरिने कच्चा पदार्थ), चाटी अप्पा (इँटा) पित्तलको सामग्री, एक केजी २३९ ग्राम सुन आइसकेको मन्दिर जीर्णोद्वार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले बताउनुभयो ।

मन्दिर पुनःनिर्माणका लागि चाहिने काठ मकवानपुरबाट ल्याइएको छ । रु ४१ लाख ५८ हजार मूल्यको काठ मन्दिर परिसरमा आइपुगेको छ । मन्दिर जीर्णोद्वारका लागि अझै रु दुई करोड २५ लाख अपुग रहेको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष दिनेशबाबु जोशीले बताउनुभयो ।

पुनःनिर्माणको काम सक्नको लागि रु आठ करोड खर्च लाग्ने अनुमान गरिएको छ । मन्दिर दक्षिण पश्चिमतर्फ ६ इन्च ढल्केको र मूल ढोका १४ सेन्टिमिटर ढल्किएपछि प्राविधिकको सल्लाहअनुसार मन्दिर जीर्णोद्वार गर्न लागिएको हो ।

पुनःनिर्माणका लागि आवश्यक रकम सङ्कलन नभई मन्दिर भत्काउने काम नथाल्ने जीर्णोद्धार समितिका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । मन्दिरमा राख्ने टुँडालमुठाल, झ्याल ढोका निर्माणका काम भइरहेका छन् । मन्दिर भत्काएपछि पूजासमेत प्रभावित हुने हुँदा सबै सामग्री तयार भएपछि मात्र भत्काइने उहाँको भनाइ छ ।

मन्दिर मर्मतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँग सवा दुई करोड रुपैयाँ उपलब्ध गराउन आग्रह गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष जोशीले बताउनुभयो ।

मन्दिर जीर्णोद्वारका लागि नेपाल सरकारले गतवर्ष रु एक करोड र यसवर्ष रु तीन करोड उपलब्ध गराएको छ भने स्थानीयले रु एक करोड ७० लाख सङ्कलन गरेका छन् ।

मन्दिर पुनःनिर्माणको प्रारम्भिक काम सुरु भएको र अबको चार महिनाभित्र सम्पूर्ण काम सकिने समितिले जनाएको छ ।

मन्दिरका पुजारी इन्सान थापा भने मन्दिरमा पूजा रोकिने गरी मन्दिर भत्काउन नदिने बताउँदै आउनुभएको छ । पूरै मन्दिर भत्काएर पूजा रोक्न नमिल्ने उहाँको भनाइ छ । “मन्दिर पुनःनिर्माणले पूजा रोकिनु हुँदैन”– पुजारी थापाले भन्नुभयो ।

मनको इच्छा पूरा गर्ने देवीका रुपमा मनकामना मन्दिरलाई लिने गरिन्छ ।