५ जेठ, काठमाडौ । काठमाडौंबाट प्रकाशन हुने राजधानी राष्ट्रिय दैनिक पत्रिका नेकपा–माओवादीनिकट मजदूरहरुले कब्जामा लिएका छन् । प्रकाशन भएर बजारमा पठाउन ठिक पारिएको राजधानीको आजको सबै अंक विहान चार बजे प्रेसबाटै मजदूरहरुले नियन्त्रणमा लिएका हुन् ।

माओवादीनिकट अखिल नेपाल क्रान्तिकारी संचार छापाखान र प्रकाशन मजदूर संघमाआवद्ध १०/१२ जनाले चाबहिलस्थित प्रेसबाट पत्रिका कब्जामा लिएका थिए । बा ८ च ३१७ र बा ६ च ८४७७ नम्बरको भ्यानमा राखेर पत्रिका लगेको पत्रकार महासंघ राजधानी दैनिक शाखाका अध्यक्ष डिल्ली आचार्यले जानकारी दिए ।

नेपालगञ्ज सरुवा गरिएका एक जना कर्मचारीको सरुवा फिर्ता, कर्मचारीलाई स्थायी नियुक्तिलगायतका चार सूत्रीय माग राखेर आन्दोलित उनीहरुले यसअघि राजधानी दैनिकका प्रशासन प्रमुखलाई कुटपीटसमेत गरेका थिए ।