७ बैशाख, काठमाडौं । आज घोषणा हुन लागेको मधेसवादी छ दलको नयाँ नाम राष्ट्रिय जनता पार्टी राखिने भएको छ । राष्ट्रिय दल बनाउने हेतुले पार्टीको नामबाट मधेस शब्द हटाइएको छ ।

मोर्चामा आवद्ध राजेन्द्र महतोको सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी र अनिल झा नेतृत्वमो नेपाल सद्भावना पार्टी एउटै दलमा समाहित हुन लागेका हुन् । आज दिउँसो औपचारिक कार्यक्रम गरेर एकता गरिने स्रोतले बतयो । नयाँ पार्टीको चिह्न र झण्डा छाता रहने विषयमा समेत सहमती भएको छ ।

हिजो राती अवेर सम्म सम्पन्न छ दलका शीर्ष नेताको बैठकले पार्टी एकता गर्ने घोषणा गरेको थियो । नयाँ पार्टीको अध्यक्ष महन्थ ठाकुर हुने सम्भावना रहेको स्रोतको भनाइ छ ।