सुरेश मरहठ्ठा नेपाली फिल्ममा स्थापित हुने रहरले अमेरिकाको हुँदा खाँदाको कन्स्ट्रक्सन व्यापार र पढाउने जागिर छोडेर आए ।

पहिलो फिल्म ‘चाहान्छु म तिमीलाई नै’ ले राम्रै चर्चा र व्यापार गरेपनि खै किन हो नेपाली फिल्म बजारमा उनको माग बढेन ।

 

यो फिल्म रिलिज पछि केही वर्ष बेरोजगार बनेका सुरेशले पछि ‘पिंजडा’भन्ने फिल्म खेले । फिल्म हिट त भयो तर फिल्म जस लगे निखिल उप्रेतिले ।

निखिलले सात तलामाथि हाम फालेर फिल्म पनि हिट गराए र आफू पनि हिट भए । तर सुरेश भने जहिँको तहिँ । विरक्तिएर उनी फेरि लागे अमेरिका तिर ।

 

suresh marahattaतर एकचोटि फिल्मको किराले टोकेपछि चैनले किन बस्न दिन्थ्यो । फिल्मको कुतकुतिले कसै छाडेन र आए फेरि नेपाल । यो बेला आउँदा उनले नयाँ संकल्प मात्रै लिएर आएका थिएनन् नयाँ नाम पनि लिएर आएका थिए ।

 

सुरेश नाम अनलक्की भएको ठानी उनले ‘सु’काटेर रेश मात्र लिएर आएका थिए । योसँगै उनले हिन्दी फिल्म ‘धुम’लाई नेपालीकरण गर्दै नयाँ फिल्म बनाउने घोषणा गरे ‘च्यालेन्ज’ ।

ठूलो तामझामका साथ विदेशी कलाकार समेत ल्याएर फिल्म सुटिङ गरियो तर ५ वर्ष हुन लाग्यो फिल्म रिलिज हुने तरखर छैन ।

 

कहिले एनिमेटर सिमोस सुनुवारसँगको झगडा त कहिले केको लफडाले फिल्म अझसम्म पनि तयार भएको छैन । ‘च्यालेञ्ज’मा होइन रेशले बीचमा अभिनय गरेका कुनै पनि फिल्म रिलिज भएका छैनन् ।

 

उनले ‘च्यालेञ्ज’पछि ‘मेरो बेस्ट फ्रेण्ड’, ‘मिसन पैसा रिलोडेड’ र ‘इलेभेन्थ स्ट्रिट’जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।

तर खै कुन दशा चलेर हो उनका कुनै पनि फिल्म रिलिज भएका छैनन् । तर रेश कसैले किन फिल्म रिलिज नगरेको भनेर सोध्यो भने ‘सबैले च्यालेञ्ज कुरिरहेका छन्’भन्ने जवाफ दिन्छन् मोवाइलमा होस् वा ल्यापटपमा फिल्मका क्लिप्स देखाईहाल्छन् ।

 

विचरा रेश अब गरुन् पनि के ? पुरै फिल्म त देखाउनै नसक्ने भए । क्लिप्स देखाएरै सोध्नेको बुजो टालिरहेका छन् । तर अचम्म यो छ अमेरिकामा आरामको जिन्दगी छोडेर हिरो हुन आएका रेशले फिल्म नै रिलिज नगरेर के कुरेका हुन् ? किनकी सुनिन्छ ‘च्यालेञ्ज’मात्र होइन ‘मेरो बेस्ट फ्रेण्ड’, ‘मिसन पैसा रिलोडेड’ र ‘इलेभेन्थ स्ट्रिट’मा रेशले पनि पैसा लगाएका छन् ।

 

हिरो भएर जम्ने समय त जाँदैछ नी फिल्म रिलिज नगरेर पैसा पनि डुबिरहेको छ । आखिर रेश कुरिरहेका छन् के ?