२८ असार, काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान जारी गर्नुपहिले प्रदेशको नामांकन र सीमांकनको विवाद् टुंग्याउनुपर्ने मधेशवादी दलको माग जायज भएको बताएका छन ।

पार्टीको भातृ संगठन नेपाल दलित संघले सोमबार ललितपुरमा गरेको कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता देउवाले अन्तरिम संविधानमा नै प्रदेशको नामांकन र सीमांकन
संविधानसभाले निर्णय गरे बमोजिम हुने व्यवस्था रहेकाले संविधान जारी गर्नुपहिले संघीयताका विवाद् टुंग्याउनुपर्ने माग जायज भएको बताए । उनले नामांकन र सीमांकनको विवाद् संविधान जारी गर्नुपहिले नै टुंग्याउन पहल गरिनुपर्ने र विवाद थाँती रहे ती विषयमा सहमति नहुञ्जेल संविधानसभालाई कायम राख्नुपर्ने बताए ।

sher bdr deuba talking

काँग्रेसका वरिष्ठ नेता देउवाले संविधानको प्रारम्भिक मस्यौदामा कमजोरीहरु रहेको स्वीकार गर्दै सुझावका आधारमा परिमार्जन हुने बताए । कार्यक्रममै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई नीतिमुखी नभइ नेता र नातामुखी बनाइ इतिहासमै कमजोर तुल्याइएको बताए । उनले लामो संघर्ष गरेका नेता तथा कार्यकर्तालाई पाखा लगाएर शक्तिको वरपर घुम्नेहरुलाई पुरस्कृत गरेको, वर्षौंदेखि भातृ संस्थाहरुको निर्वाचन नगरेको, पार्टीलाई संस्थागत रुपमा संचालन नगरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरे ।

काँग्रेस नेता केसीले नीति निर्माण तहमा उपेक्षित र उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न नयाँ संविधानमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने र त्यसका लागि सरोकारवाला समूहले दलहरुलाई निरन्तर दवाब दिनुपर्ने बताए । कार्यक्रममा नेपाल दलित संघले दलितहरुको शिक्षाका लागि योगदान गरेको भन्दै सभासद् उमेश श्रेष्ठलाई सम्मान गरेको थियो । संघले आफ्ना कार्यकर्ताहरुको क्षमता अभिवृद्धिका लागि गरेको राष्ट्रिय प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने छ ।