४ असोज, महोत्तरी ।

नयाँ संविधान जारी भएको दुई घन्टा नबित्दै महोत्तरी क्षेत्र नं ६ का सांसद सीताराम भण्डारीको घरमा केही अज्ञात व्यक्तिको समूहले आगजनी गरेका छन् ।

गएराति ८ बजेको समयमा आधा दर्जनभन्दा बढी मोटरसाइकलमा आएका अज्ञात समूहले सांसद भण्डारीको निवास भरतपुरमा रहेको पुख्र्यौली घरमा आगजनी गरेका हुन् ।

सो समूहले घरको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको स्थानीय दिनेश महतोले जानकारी दिए । समयमै आगोलाई नियन्त्रणमा लिएकाले थप क्षति हुनबाट जोगिएको स्थानीय महतोले बताए ।

घरमा कोही नभएकाले छिमेकीले मूल ढोका फोरेर आगोलाई समयमै नियन्त्रणमा लिइएकाले कुनै भौतिक एवम् मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घटनामा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले बताए । केही वर्ष अघिदेखि भण्डारीका परिवार राजधानीमा बस्दै आएकाले घर सुनसान रहँदै आएको थियो । रासस