एक दिन बादशाह अकबरले राज्यसभाको क्रममा घोषणा गरे कि जसले मेरा तीन प्रश्नहरूको जवाफ दिन्छ, उसले मेरोतर्फबाट भारी इनाम पाउनेछ। प्रश्न यस्तो थियो:-

१. त्यो कुन कुरा हो, जुन आज छ अनि भोलि पनि हुनेछ?
२. त्यो कुन कुरा हो, जुन आज छ तर भोली हुनेछैन?
३. त्यो कुन कुरा हो, जुन आज छैन तर भोलि हुनेछ?

त्यहाँ उपस्थित राज्यसभाका सम्पूर्ण सदस्यहरूमध्ये कसैसँग पनि अकबरको यस्तो जटिल प्रश्नको जवाफ थिएन। तर अकबरका मन्त्री बीरबल जुरुक्क उठेर भने- “हुजूर! तपाईँका प्रश्नहरूको जवाफ म दिन सक्छु, तर यसको लागि तपाईँ मसँगै शहर हिँड्नुपर्ने हुन्छ। तबमात्रै तपाईँका प्रश्नको जवाफ सही ढङ्गसित पाउनुहुनेछ।”Akbar and Birbal in Rajyasabha 1

मन्त्रीको कुरामा अकबर राजी भए र दुवैजनाले भेष परिवर्तन गरेर शहरतर्फ लागे। केहि बेरपछि उनीहरू एक बजारमा पुगे र एक दुकानदार भएको ठाउँमा पसे। बीरबलले दुकानदारसँग भने कि बच्चाहरूलाई पढाउनको लागि विद्यालय बनाउनुपर्यो र त्यसको लागि केहि सहयोग चाहिएको छ, तपाईँ हामीलाई १०० रुपैयाँ दिनुहोस्।

त्यसपछि दुकानदारले आफ्ना नोकरलाई यिनीहरूलाई १०० रुपैयाँ देउ भनेपछि बीरबलले फेरि अर्को कुरा थपे- “जब म पैसा लिँदै हुन्छु, तब हरेक रुपैयाँको सट्टा म तिम्रो शिरमा जुत्ताले हान्नेछु, के तिमी राजी छौ?” बीरबलको यस्तो कुरा सुनी नोकर सन्किन थाले र उनीहरूलाई गाली गर्न थाले। तर दुकानदारले आफ्ना नोकरलाई शान्त हुन लगाई बीरबलको कुरामा राजी भए र भने- “ठीकै छ, तर मेरो पनि एउटा सर्त छ। तिमीलाई मलाई वाचा गर कि यो पैसा तिमीले भनेजस्तै राम्रो कामको लागि उपयोग हुनुपर्छ।” यत्ति भनी त्यस दुकानदारले आफ्नो शिर झुकाएर जुत्ताले हान्न भने।

त्यसपश्चात अकबर र बीरबल केहि नबोली त्यहाँबाट नाहिर निस्किए र बाहिर पुगिसकेपछि बीरबले मुख खोले र अकबरलाई भने- “हुजूर! तपाईँको पहिलो प्रश्नको जवाफ त्यहि थियो। त्यस दुकानदारसँग आज पैसा छ र त्यस पैसालाई राम्रो कामको लागि उपयोग गर्ने इच्छा राख्छ ताकि भविष्यमा आफ्नो पनि नाम राम्रोकामसँग जोडिएर आओस्। यसको मतलब ऊसँग त्यो कुरा आज पनि छ र भोलि पनि हुनेछ

फेरि उनीहरू एक भिखारी भएको ठाउँमा पुगे। त्यसबखत त्यस भिखारीलाई एक यात्रुले केहि खानेकुरा दिइराखेको थियो र त्यो खाना एकजनाको लागि मात्रै धेरै थियो। यो देखी बीरबलले भिखारीको नजिक गई मलाई नि अलिकति खानेकुरा देउ, कति दिनदेखि खान पाइरा’को छैन भनी भिख मागे। तर त्यस भिखारीले बीरबललाई त्यहाँबाट लखाटे र खाना बाँड्न मानेनन्। बीरबलले अकबरलाई भने- “तपाईँको दोस्रो प्रश्नको जवाफ देख्नुभयो, हुजूर? यो भिखारीसँग आज जे छ, त्यो अरू कसैलाई बाँड्न चाहँदैन, एक्लै सिङ्गो खुशी समेट्न चाहन्छ। यस्तो मान्छेले पछि के खुशी पाउनेछ र? मतलब यो मान्छेसँग आज जे छ त्यो भोलि पक्कै पनि हुनेछैन।”

दुवैजना त्यहाँबाट फेरि अगाडि बढे र एक तपस्वी भएको ठाउँमा पुगे। बीरबलले त्यस तपस्वीको अगाडि अघि दुकानदारबाट पाएको १०० रुपैयाँ राखिदिए। तब त्यस तपस्वीले भने कि मेरो अगाडिबाट यो धनको मैलो हटाइदेउ। मलाई पैसाको होइन शान्तिको आवश्यकता छ। बीरबलले अकबरलाई यता ल्याएर भने- “यो तपाईँको तेस्रो प्रश्नको जवाफ थियो हुजूर! यो मान्छे भोलिको प्राप्तीको लागि आज केहि चाहँदैन। मतलब उसँग आज केहि छैन र भोलि उसँग केहि हुनेछ।”

नीष्कर्ष:- बीरबलको उदाहरणबाट यहि सिक्न सकिन्छ कि मनुष्यले आफ्नो जीवनमा गरेको पाप या पुण्य सँधै उसले साथमै बोकेर यात्रा गर्नुपर्ने हुन्छ। उसको कर्मको भागेदार ऊ आफै हुन्छ। जस्तो कर्म गर्यो त्यसको त्यस्तै फल उसले पाउनेछ। त्यसैले हामी असतको मार्ग छोडेर सतको मार्गतर्फ लम्किनुपर्दछ। यहि नै हाम्रो परमधर्म हो।

यो पनि पढ्नुहुन्छ की?
मृत्युपश्चात के हुन्छ? गौतम बुद्धको रोचक कथाप्रसङ्ग…
दुःखीलाई जहिले दुःख अनि सुखीलाई जहिले सुख मात्रै मिल्छ, किन? भगवान शिव र पार्वतीको रोचक कथा…
संसारकै सबैभन्दा ठूलो आश्चर्य कुरा के हो? महाभारतको रोचक कथा
८ अमर पुरुषमध्येका एक, महाभारतका अश्वत्थामाको ९ रोचक कथा
महाभारतको सबैभन्दा रोचक ४ लघुकथा