२१ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधीसभाको निर्वाचनका लागी निर्वाचन आचारसंहिता पालनामा कडाई गर्ने जनाएको छ ।

आयोगले शनिबार आयोजना गरेको राजनीतिक दलहरुका लागि समानुपातिक निर्वाचन प्रणालीसम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता पालनामा कडाई गर्ने बताएका हुन् । उनले निर्वाचन आचारसंहिता उल्लंघनमा कडाई गर्नका लागि अनुगमन चुस्त पार्ने जानकारी दिदै आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी भई रहेको उल्लेख गरे ।

आचारसंहिता पालना गरेर पनि निर्वाचन आयोगलाई सहयोग गर्न सकिने भन्दै उनले सबै राजनीतिक दललाई आफ्नो कर्तव्य बुझेर आचारसंहिता पालना गर्न आग्रह गरे ।  पछिल्लो समयम निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गरेको भन्दै उनले अब कुनै नेताले आचारसंहिता उलंङ्घन गरे दलका प्रमुख नेतासंग स्पष्टीकरण सोध्ने चेतावनी दिए ।

कार्यक्रममा आयोगले समानुपातिक निर्वाचन प्रणालीको कार्यविधि, दलहरुले बन्दसूचि तयार गर्दा र पेश गर्दा ध्यान दिनु पर्ने बिषयका बारेमा जानकारी गराएको थियो ।