२९ साउन, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिभाजीत राप्रपा (प्रजातान्त्रिक)ले थप सनाखत गर्नु नपर्ने जवाफसहितको पत्र आयोगलाई बुझाएको छ ।

साउन २२ गते दल दर्ताका लागि निवेदन दिएको पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)लाई आयोगले सनाखतका लागि अज बोलाएको थियो । यसअघि नै सनाखत भइसकेकाले थप सनाखत गर्नु नपर्ने पत्र आयोगमा बुझाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

राप्रपाबाट विभाजित भएर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको राप्रपा (प्रजातान्त्रिक)ले आफूसँग थप १० केन्द्रीय सदस्य रहेको भन्दै १० दिनको समय पनि माग गरेको छ ।

आयोगले राप्रपा (प्रजातान्त्रिक)लाई आज बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्मको समय तोकेको थियो । तर राप्रपा (प्रजातान्त्रिक)का नेताहरुले बिहान साढे १० बजे नै जवाफसहितको पत्र आयोगलाइ बुझाएको हो ।

राप्रपा प्रजातान्त्रिकले दर्ता प्रमाणपत्र पाउन निर्वाचन आयोगमा कायम रहेका केन्द्रीय समितिको ४० प्रतिशत र संसदीय दलको पनि ४० प्रतिशत सदस्य पुर्याउनुपर्ने हुन्छ ।

निर्वाचन आयोगमा राप्रपाको महाधिवेशनपछि एकसय १९ सदस्यीय केन्द्रीय समिति अभिलेख गरिएको थियो । पछि असार २८ गतेको पत्राचारबाट मनोनित गरेका ४२ सदस्यसहित राप्रपाको केन्द्रीय समिति १ सय ६१ सदस्यीय भएको थियो ।