२८ फागुन , काठमाडौं ।

आफ्नै मैदानमा भएको आइसिसी विश्व क्रिकेट लिगको पहिलो खेलमा केन्याविरुद्ध नेपाली टोली दयनीय अवस्थामा देखिएको छ । पानी परेर ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभमरमा ८ विकेट क्षतिमा जम्मा ११२ रन बनाउन सक्यो । पानीले खेल रोकिएपछि बाँकी दुई ओभर नखेलाई केन्यालाई २९ ओभरमा १०४ रनको नयाँ लक्ष्य दिइएको हो ।

यो पढ्नुस् : विश्व क्रिकेट लिग च्याम्पियनसीपः नेपाल VS केन्या (LIVE)

अब जितका लागि नेपालले केन्यालाई रोक्न बलिंगमा चमत्कार नै गर्नुपर्नेछ । नेपाली टोलीलाई धराशयी बनाउने क्रममा केन्याका सबै बलरहरुले निक्कै कसिलो बलिंंग गरे । नोग्चेले तीन, एनएम ओधिम्बोले २ विकेट लिए ।

नियमित कप्तान पारस खड्का एपेन्डिसाइटिसको शल्यक्रिया गराएका कारण खेल्न नसकेको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको २७ रन नै नेपाली टोलीको सर्वाधिक व्यक्तिगत रन बन्न पुग्यो । मल्ल बाहेक दिपेन्द्रसिंह ऐरीले १९ र सागर पुनले १० रन बनाए । पुछारतिर आएका शक्ति र सोमपालले सम्हालिंदै रन बनाए । शक्तिले १८ र सोमपालले १५ रन बनाएपछि यी दुईबीच ३० रनको साझेदारी बन्यो । यी दुईको साझेदारीमा अन्तिम नेपालले थोरै रन उकास्न पुग्यो । २१ रन हुँदा ५.४ ओभरमा पहिलो विकेट गुमाएपछि नेपाल क्रमशः कमजोर बन्दै जाँदा रनमा खुम्चिन बाध्य भयो ।

५.४ ओभरमा पहिलो विकेटका रुपमा ३ रनमा सुनिल धमलालाई गुमाएपछि ज्ञानेन्द्र मल्ल २७, सागर पुन १०, दिपेन्द्र ऐरी १९, शरद भेषवाकर ३, विनोद भण्डारी ४, मेहबुब आलम २, बसन्त रेग्मीले ६ रन बनाए ।

नेपाल यो लिगमा ६ अंकसहित छैटौं स्थानमा छ । शीर्ष चारभित्र पर्न सके नेपालले विश्वकप छनोट खेल खेल्न पाउनेछ । तर, यसका लागि केन्याविरुद्धको आज र पर्सि हुने खेल जित्नैपर्ने दबाबमा नेपाल छ । केन्या ८ खेलबाट ८ अंकसहित नेपालभन्दा अगाडि अर्थात पाँचौ स्थानमा छ । १६ अंक जोडेको नेदरल्याण्ड पहिलो, १२ अंक जोडेको पपुवा न्युगिनी दोस्रो, ११ अंक जोडेको हंगकंग तेस्रो, ११ अंक नै जोडेको स्कटल्याण्ड चौथो स्थानमा छ ।

नेपालले यस अघि नेदरल्याण्डलाई उसकै मैदानमा एक खेलमा हराएको थियो भने एक खेलमा १९ रनले जितेको थियो । तर, आफ्नै मैदानमा नेपाल आज निक्कै निरीह देखिन पुगेको छ ।