१६ मंसिर, काठमाडौं । नारायण गोपाल सङ्गीत कोषले यसवर्ष गायिकाद्वय मीरा राणा र ज्ञानु राणालाई ‘नारायण गोपाल स्मृति सम्मान’ प्रदान गर्ने भएको छ ।

उक्त सम्मानस्वरुप नगद रु २५/२५ हजार तथा दोसल्लासहित कदरपत्र प्रदान गरिनेछ । महाराजगन्जस्थित नारायण गोपाल बस्दै आएको घरमा यही मंसिर १९ गते स्मृति दिवसको अवसर पारेर विशेष कार्यक्रम गरी सम्मान प्रदान गरिनेछ ।

meera-gyanu-rana

गायिका ज्ञानु र मीराले नेपाली गीत तथा सङ्गीत क्षेत्रको विकासमा योगदान गरेकाले सो सम्मान दिन लागिएको कोषका महासचिव उषा शेरचनले जानकारी दिइन । गायिकाद्वयले नारायण गोपालसँग समेत युगल गीत गाएका छन ।

नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । नारायण गोपालको निधनपछि नेपाली सुगम गीतसङ्गीतको विकासमा क्रियाशील गायक तथा सङ्गीतकर्मीलाई प्रत्येक वर्ष मङ्सिर १९ गतेका दिन सो पुरस्कार प्रदान गरिँदै आएको छ ।