‘श्रीमद्भगवद गीता’ वा ‘श्रीमद्भागवत गीता’ हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो। यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो। यसमा १८ अध्याय छन्। यसलाई ‘मोक्षशास्त्र’ पनि भनिन्छ।
श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो। जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जिवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ, त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडि आईपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रिय धर्मदेखि विमुख हुन्छन्।
यो समस्या हर व्यक्तिलाई आइपर्ने समस्या हो। यसलाई प्राचीन ऋषिमुनिहरूद्वारा गहन विचार गरेर जून ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो। त्यही वेदको अन्तिम भागलाई उपनिषद भनिन्छ। मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषदमा निहित भएको ज्ञान मनुष्यको उच्चतम अवस्था हो। यसबाट मनुष्य आफ्नो बुद्धिको सीमा भन्दा परको अवस्थालाई प्राप्त गर्छ त्यहि ज्ञानलाई औपनिषदिय ज्ञान भनिन्छ। त्यही ज्ञानलाई सामान्य अर्थात उपनिषदको कठिन अर्थलाई सामान्यरूपले दर्शाउन वेद व्यासले भगवद्गीतामा संक्षिप्त रूपमा प्रस्तुत गरेका छन्।
गीताको सार के हो?
- किन व्यर्थ चिन्ता गर्छौ? कोदेखि व्यर्थै डराउदछौ? तिमीलाई कसले मार्छ? आत्मा न जन्म लिन्छ न मर्छ।
- जे भयो, त्यो राम्रो भयो। जे हुँदैछ, त्यो राम्रै हुँदैछ। जे हुनेछ, त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर। वर्तमान चलिरहेको छ।
- तिम्रो के गएको छ र तिमी रुन्छौ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ? तिमीले के पैदा गरेका थियौ र नाश भयो? तिमीले केही लिएर आएका थिएनौ। जे पायौ, यहीँबाट पायौ। जति दियौ, यहीं नै दियौ। खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ। यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो।
- परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ। यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ।
- मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ। तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।