“विथ ग्रेट पावर, कम्स ग्रेट रेस्पन्सिबिलिटी” (With great power comes great responsibility)! यानिकी, महान शक्तिसँगै हामीले महान कर्तव्यको पनि पालना गर्नुपर्छ। हामीले आफ्नो शक्तिको नशामा सभ्यता र विनम्रतालाई भुल्न हुँदैन। जो व्यक्तिले शक्तिको घमण्डमा यी दुई कुरालाई त्याग्दछ, त्यो व्यक्तिले जीवनमा धेरै ठक्कर र घृणा सहनुपर्ने हुन्छ।
हिन्दु धर्मका ग्रन्थमा भगवानको अलौकिक कथाको मात्र चर्चा गरिएको छैन, यसले साधारण जीवनमा लागू गर्नुपर्ने मूल्य-मान्यता र सभ्यताको पनि पाठ सिकाएको छ। उदाहरणको लागि महाशक्तिशाली पाण्डव भिमलाई लिन सकिन्छ।
भिमलाई आफ्नो शक्तिप्रति घमण्ड भएपछिः
जुवामा हारेपछि, पाण्डवहरूले बाह्र वर्षसम्मको लागि वनवास भोग्नुपरेको थियो। त्यसपछि सबै पाँच भाई र द्रौपदी घना जङ्गलमा भट्किरहनुपरेको थियो। जङ्गलमा चहार्दाचहार्दै उनीहरू कैलाश पर्वतको जङ्गलमा पुगे। त्यति बेला साधु राजा ‘कुबेर’को महल पनि कैलाश पर्वतमै थियो। कुबेरको महलवरिपरी एक बँगैचा थियो, जहाँ अति सुगन्धित कमलको फूल फुलेको थियो। घुम्दै गरेकी द्रौपदीले फूलको बासना थाहा पाएपछि, उनले भिमलाई त्यो कमलको फूल टिपेर ल्याउन आग्रह गरिन्। द्रौपदीको आग्रह मानी भिम उक्त बँगैचातर्फ लागे।
बाटोमा ठूलो जङ्गल पर्थ्यो र जङ्गलको बीचबाटोमा भिमले एउटा बाँदरले बाटोमा पुच्छर पसारेर सुतिरहेको देखे। कुनै पनि प्राणीलाई नाघेर जानु आफ्नो मर्यादाविरुद्ध हुन्छ भनेर, भिमले बाँदरलाई पुच्छर हटाउन आदेश दिए। तर बाँदरले सुन्ने कान नै नलगाएपछि, क्रोधित हुँदै भिमले बाँदरलाई यसो भने, “म महाबली भिम हुँ, तँलाई थाहा छ?” यो क्रोधित स्वर सुनेर बाँदरले जवाफमा यस्तो भने, “यदि तिमी साँच्चीकै शक्तिशाली छौ भने, आफैले मेरो पुच्छर हटाएर जाऊ न त!”
त्यसपछि, भिमले त्यो बाँदरको पुच्छर हटाउन खोजे तर जेजति गरेपनि सकेनन्। आफू महाशक्तिशाली हुँदाहुँदै पनि एउटा बाँदरको पुच्छर हटाउन नसकेपछि हार मानेर भिमले बाँदरसँग प्रार्थना गर्न थाले। त्यसपछि, बल्ल बाँदरले आफ्नो वास्तविक रूप धारण गरे, उनी स्वयं पवनपुत्र हनुमान थिए। उनले भिमलाई आफ्नो शक्तिप्रति कहिल्यै पनि घमण्ड गर्नुहुँदैन भनेर सम्झाए।
आफ्नो शक्ति नशामा अन्धो हुनु साधारण कुरा हो। जति शक्तिशाली छ, त्यति नै बिनम्र भएका मानिसहरू बिरलै भेटिन्छन्। शक्ति र बिनम्रता ठ्याक्कै उल्टो स्वभावका गुणहरू हुन्, तर जसले यी दुइ गुणलाई अँगाल्न सक्दछ, ऊ महान व्यक्ति बन्दछ।