१२ मंसिर, काठमाडौं । नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले देशमा सञ्चालन गरिने ठूला परियोजनामा स्वदेशी पूँजी परिचालन गरी लगानी गर्नुपर्ने बताएका छन ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ स्यूचाटार स्थित दुर्गानगर कोलनीमा संयुक्त वाम गठबन्धनले आज आयोजना गरेको चुनावी कार्यक्रममा उनले चन्द्रागिरिको ऐतिहासिक महत्व रहेको र त्यहाँका भालेश्वर महादेवस्थल, इन्द्रदहलगायत सम्पदास्थलका रुपमा विकास गरी पर्यटकलाई आकर्षित गरेर स्थानीय क्षेत्रमा रोजगार सिर्जना गर्नुपर्ने विचार व्यक्त गरे ।

सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेता श्रेष्ठले थानकोटदेखि कलंकी र कलंकीदेखि बल्खुको सडक विस्तारलाई समयमै सम्पन्न गर्न आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही क्षेत्र प्र्रदेश (२) का उम्मेदवार केशवप्रसाद पोखरेलले शिक्षा, स्वास्थ्य, रोजगारलगायत उत्पादनशील क्षेत्रमा गरिने लगानीले त्यहाँको पूर्वाधार विकास निर्माणमा सहयोग पुग्ने बताउँदै स्थानीयवासीलाई लाभान्वित हुने गरी लगानी वृद्धि गर्ने आर्थिक गतिविधि सञ्चालन गरी नागरिकलाई समृद्ध बनाउन आफू सधैव क्रियाशील रहने बताए ।