७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी विभाजनको षड्यन्त्रलाई ईखको रुपमा लिई राप्रपालाई देशको अग्रणी शक्ति बनाउने अभियानमा अझ बढी सकृयताका साथ प्रतिबद्ध रहन आह्वान गरेका छन् ।

आज दिनभर सामाजिक सञ्जालमा सक्रिय देखिएका थापाले पटक पटक ट्वीट गर्दै पार्टी विभाजनको विषयलाई लिएर आफ्ना अभिव्यक्ति सार्वजनिक गर्दै कार्यकर्तालाई यस्तो आग्रह गरेका हुन् । उनले नेपाललाई हिन्दुराष्ट्र बन्न नदिन र राष्ट्रवादी शक्ति कमजोर बनाई आफ्नो प्रभुत्व कायम राख्न राप्रपा फुटाईएको पनि उल्लेख गरेका छन् ।


तर त्यो सपना कहिल्यै पुरा हुन नदिने उनले जिकिर गरेका छन् । एक अर्को ट्वीट् गर्दै राप्रपा अध्यक्ष थापाले राज्यशक्ति दुरुपयोग गरेर राप्रपा फुटाईएको उल्लेख गरेका छन् । कानुनको धज्जी उडाउँदै राज्यशक्ति दुरुपयोग गरी राप्रपा फुटाए, आयोग, अदालत निरीह भयो, थापाले ट्वीट गरेका छन्—तर पार्टीको सिद्धान्त र निष्ठा कसैले फुटाउन सक्दैन, त्यो अटल छ ।’