पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने माग गर्दै सार्वजनिक विदा दिन जनदबाब भएपनि सरकारले विदा दिएन । पृथ्वी जयन्तीलाई एकता दिवस मनाउनको लागि सबै दलहरु सहमत पनि भएका थिए । प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ स्वयंमले पनि पृथ्वी जयन्तीलाई विदा दिन सकारात्मक भएको बताएका थिए । तर मंगलवार रातीसम्म विदा दिने कुनै निर्णय हुन सकेन । विदा नदिने निर्णयप्रति सत्तारुढ राप्रपाले सरकारमा नै नबस्ने चेतावनी समेत दिएको छ । आज पृथ्वी जयन्ती । माओवादी बाहेक कांग्रेस एमाले र राप्रपा लगायतका दलहरुले कार्यक्रम आयोजना गरेका छन् । राप्रपा भने प्रधानमन्त्री प्रचण्डसँग रुष्ट भएको छ । यसै विषयमा राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीसँग नेपाली हेडलाइन्सले गरेको कुराकानीः

Dil Nath Giri RPPN

दिलनाथ गिरी
प्रमुख सचेतक,राप्रपा

विदा नदिने सरकारको कदम प्रचण्डलाई महंगो पर्छ
आम जनताको चाहना पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने भन्ने छ । विगतका बर्षमा जे भएपनि यस बर्ष सरकारले एकताका प्रतिकका रुपमा रहेका पृथ्वीनारायण शाहको सम्मानमा विदा दिने आशा गरेका थियौं । तर प्रधानमन्त्री प्रचण्डले विदा दिने आँट गर्न सक्नु भएन । सिंगो देशलाई एकताबद्ध गर्ने व्यक्तिलाई सम्मान दिदा सरकारको के जान्छ ? पृथ्वी जयन्तीमा विदा नदिने प्रचण्डको अडान सरकारलाई महंगो पर्छ । नेपालका सबै राजनीतिक दलरुले पृथ्वी जयन्तीलाई एकता दिवसको रुपमा मनाउने भनेका थियौं । यो दिवस मार्फत सामाजिक सदभावको सन्देश दिन खोजेका थियौ । एकताबद्ध भएर अगाडि बढ्ने भनेका थियौ । तर प्रचण्डको कदमले यो राष्ट्रलाई छिन्नभिन्न र विखण्डनतिर लैजाने त होइन ? भन्ने गम्भीर प्रश्न जन्माएको छ ।

जनताको मनमा ठूलो चोट पुग्यो
हामी नेपाली हौं । नेपाली हुनुमा गर्व गर्छौं । राष्ट्रिय एकताको प्रणेताको रुपमा रहेका पृथ्वीनारायण शाहलाई सबैले सम्मान गर्छन । नेपाल निर्माणको धरोहर पृथ्वी जयन्तीलाई आम नेपालीले गर्वको दिनको रुपमा स्वीकार गर्दै आएका छन् । पुथ्वी जयन्तीले नेपाल र नेपालीलाई एकताबद्ध भएर हिड्नु पर्ने सन्देश दिएको छ । सरकारले विदा नदिने अडानको कारण सिंगो नेपाली जनताको मन दुखेको छ । जनताको चाहना र भावना विपरीत यो सरकार चलेको छ । अब यसको छिनोफानो आगामी निर्वाचनले गर्नेछ । यो सरकार राष्ट्र र राष्ट्रियताको लागि हो कि अरुकै लागि हो ? निकै ठूलो गम्भीर प्रश्न जन्मिएको छ ।

सरकारसँग अब सहयात्रा हुन नैतिक प्रश्न
अहिले हाम्रो पार्टी सरकारमा छ । प्राविधिक रुपमा छौं । सरकारले हामी सरकारमा भएकोजस्तो व्यवहार गरेको छैन् । राष्ट्रिय दिवसमा सरकारले विदा नदिने निर्णयले थप शकां जन्माएको छ । नेपालको पहिचान दिने एकताको सुत्रधार महान व्यक्तिको सम्मान गर्न सरकारलाई किन टाउको दुखाई भयो ? निकै गम्भीर प्रश्न छ । विगतको बर्षमा कटौती गरेको इसाई धर्मालम्बीहरुलाई विदा दिने काम भयो । हो इसाई धर्माबलम्बीलाई पनि सम्मान गर्नुपर्छ । तर राष्ट्र निर्माणलाई सम्झने काममा किन टाउको दुखाई भयो ? राष्ट्रलाई एकता गर्ने पृथ्वीनारायण शाहलाई सम्मान गर्न सरकार चुकेको छ । यो सरकारले राष्ट्रको विरोधमा काम गरेको छ । यो कदमले सरकार र राप्रपाको बीचमा निकै ठूलो तिक्तता जन्माएको छ । विश्वासको संकट पैदा भएको छ । हाम्रो पार्टी गम्भीर छ । सरकारसँगको सहयात्रा टुट्न पनि सक्छ । हामीमाथि नैतिक प्रश्न खडा भएको छ ।

प्रचण्ड रिमोटकन्ट्रोलबाटै चले
सभामुख ओनसरी घर्तीले बोलाउनुभएको पाँच दलको बैठकमा मैले पृथ्वी जयन्तीको अवसरमा पार्टीले आयोजना गर्ने चियापान कार्यक्रमको निमन्त्रणा कार्ड लिएर गएको थिए । सबैलाई निम्ता दिए । मैले नै एकता दिवसको अवसरमा पृथ्वी जयन्तीमा सरकारले विदा दिनुपर्ने प्रस्ताव राखे । मरो प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनालले विदा दिंदा आफूहरुलाई आपत्ति नभएको बताए । प्रधानमन्त्री प्रचण्डले म दलहरुसँग छलफल गरेर टुंगोमा पुग्छु भन्ने जवाफ दिए । तर झलनाथ खनालले सोधका थिए–प्रचण्डजी सबै दलहरु यही छौं अब कोसँग छलफल गर्नुहुन्छ, दलका शीर्ष नेताहरु त यही छौं । प्रचण्डले होइन म २७ गते अघि नै टुंगो लगाउछु भनेर बचन दिनुभएको थियो । खै कोसँग छलफल गर्नु भो विदा नदिने टुंगोमा पुग्नु भएछ । यसले स्पष्ट पारेको छ–प्रचण्ड कतै रिमोटकन्ट्रोलबाट चलेका छन् ।

शालिक ढालेर राष्ट्रिय एकता बलियो हुँदैन
इतिहासलाई कसैले पनि विर्सन मिल्दैन । इतिहासका राम्रो पक्षको सबैले सम्मान गर्नुपर्छ । आज पृथ्वीनारायण शाहलाई विश्वले चिन्छ । नेपाल र नेपालीको पहिचान दिने व्यक्तिलाई हामी किन अपमान गर्न खोजिरहेका छौ ? यो कदम जनताको विरुद्धमा छ । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा दिदै आएको विदा कटौती गर्ने काम भयो । अहिले विदा दिन्छु भनेर घोषणा गरेपनि अन्तिम अवस्थामा आएर कतैबाट प्रभावित भएर बचन पूरा गर्नसक्नुभएन ।

यो पनि पढ्नुस्:
प्रचण्ड, ओली र देउवा मिलेपछि मधेसी माेर्चा सकसमा
एमालेको सहमतिमै संविधान संशोधन प्रस्ताव पेस गरिएको हो :  प्रचण्ड
पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री दाहाल
दरबारबाट बाहिरिएका हौं, जिम्मेबारीबाट होइनः पूर्वराजा ज्ञानेन्द्र