१८ असोज, काठमाडौं । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा उम्मेदवार छनौटको विषयलाई लिएर भाँडभैलो भएको छ ।

नेपाली कांग्रेस डडेल्धुरा कार्य समितिको आज बसेको कार्य समिति बैठकले नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, सांसद नरभान कामी, लगायत १४ जना नेताहरुलाई कारवाही गरेको छ ।

हिजो नेपाली काग्रेस डडेल्धुराका पूर्वसभापति रघुबर भट्ट र वर्तमान सभापति कर्णबहादुर मल्ल समूहले प्रदेश सभाको निर्वाचनका लागि छुट्टा छुट्टै सिफारिस पठाएपछि आज सभापति मल्लले कार्यसमितिको बैठक बोलाएर १४ जना नेताहरुलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेको हो ।

जिल्ला पार्टी कार्यालयमा बोलाएको जिल्ला कार्य समितिको बैठकलाई बहिस्कार गरि सिंहदरवारको शक्तिको आडमा छुट्टैै गुटको बैठक बोलाएर नेपाली कांग्रेस डडेल्धुरालाई कमजोर पार्ने कार्य गर्ने व्यक्तिहरुलाई कारबाहीका लागि सिफारिस गरिएको पार्टी सभापति मल्लले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रदेश सभा तथा प्रतिनिधिसभामा नाम सिफारिस गर्ने अधिकार जिल्ला कार्य समितिलाई मात्रै भएको बताउँदै सभापति मल्लले पाटीको विधि र पद्धति मिचेर मनोगत रुपमा नाम सिफारिस गर्नेहरुलाई केन्द्रीय अनुशासन समितिले कारबाही गर्नुपर्ने बताएका छन् ।

(कारवाही सिफारिस गरिएकाहरुको नामावली)