१८ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार परिवर्तन आफूहरुको प्राथमिकतामा नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताए ।

रावलले यदि आफूहरुको एकता प्रयास र चुनावी तालमेलका कारण कांग्रेसमा आएको छट्पटीले निर्वाचनमा प्रतिकुल असर परे आफूहरुले बाध्य भएर पाईला चाल्ने उल्लेख गरे । उनले देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानको लागि आफूहरुको तालमेल र पार्टी एकताको प्रयास सुरु भएको स्पष्ट पारे ।

रावलले तीन पार्टीवीचको चुनावी तालमेल र पार्टी एकताको प्रयासबाट अचम्मित बनेर कांग्रेसले अनिष्टको संज्ञा दिनु हाँस्यस्पद भएको टिप्पणी गरे । त्यस्तै उनले आफूहरुको एकता प्रयासलाई लिएर केही नेताहरुले लोकतन्त्रमाथि नै खतरा भनेर बोलेको पनि आफूहरुले सुनेको उल्लेख गर्दै लोकतन्त्रको अभ्यास गर्ने पार्टी एमालेभन्दा अरु कोही पनि नभएको जिकिर गरे ।