१० बैशाख, काठमाडौं ।
स्पेनिस ला लिगा अन्तर्गत आज राती बार्सिलोना र रियल म्याड्रिड आमनेसामने हुँदैछन् । लिगका खेल सकिंदै लाग्दा लिगको उपाधि रियलले जित्छ की बार्सिलोना पनि उपाधि होडमा फर्किन्छ भन्ने टुंगो लाग्ने भएकोले पनि यी दुईबीचको आज हुने इएल क्लासिको भिडन्तलाई निक्कै महत्वका साथ हेरिएको छ ।
एक खेल कम खेलेको क्रिश्चियानो रोनाल्डोको टिम रियल लिगमा बार्सिलोनाभन्दा ३ अंकले अघि छ, अर्थात उसको ७५ अंक छ । बार्सिलोनाको ७२ अंक छ ।
यस्तोमा लिगमा फर्किनका लागि बार्सिलोनालाई जित्नैपर्ने दबाब छ । आज हारे रियललाई ६ अंकको अग्रता र थप एक खेलमा पनि तीन अंकको अग्रता लिंदै ९ अंकको अग्रता दिलाउने अवसर छ । आफ्नै मैदानमा हुने खेलमा रियल यो मौकालाई खेर जान दिने पक्षमा पनि छैन ।

लयमा रियल
रियल च्याम्पियन्स लिगदेखि लालिगामा पनि लयमैं देखिएको छ । हार्ने बराबरीमा टुंगिने नजिक पुगेका खेलमा पनि रियलले जित निकाल्दा उसले बार्सिलोनालाई दबाबमा राखिरहेको छ । च्याम्पियन्स लिगमा पनि सेमिफाइनल प्रवेश गरेर रियलले आफूलाई बलियो देखाएको छ ।
यसको ठीक विपरीत बार्सिलोना च्याम्पियन्स लिगमबाट क्वाटरफाइनलबाटै बाहिरियो भने लालिगामा पनि मालागासँग २–० ले पराजित भएपछि दबाबमा आएको छ ।

यस्तोमा आज रियलविरुद्ध जित निकालेर बाँकी ६ खेल पनि नगुमाउने र रियलले गुमाउँदे र बराबरी बेहोर्यो भने बार्सा उपाधि होडमा फर्किनेछ ।

सुपरस्टारहरुको भिडन्त
बार्सिलोना मेसी, लुइस सुवारेज, नेयमार जस्ता सुपरस्टारले भरिएको छ । आजको खेलमा नेयमार खेल्ने छैनन् । तर, मेसी र सुवारेज चम्कने आशा गरिएको छ । इएल क्लासिको भिडन्तमा मेसीले २१ गोल गरेका छन् । यता रियलबाट रोनाल्डोको नाममा १६ गोल छ । रियलबाट रोनाल्डोसहित गारेज बेल, करिम बेन्जमा पनि आजको खेलमा चम्कने आशा गरिएको छ । परम्परागत र सधैंका यी दुई स्पेनी महारथीको खेलले विश्वमा नै तहल्का मच्चाउने गरेको छ । इखको भावना र उपाधि होडकोसमेत टुंगो लाग्ने भएकोले पनि इएल क्लासिकोको भिडन्तलाई निक्कै महत्वका साथ हेरिन्छ । विश्वमा करोडौं दर्शकले टेलिभिजनमा यो खेललाई हेर्ने गर्छन्

हेडटुहेडमा को अगाडि ?
यी दुईबीच १७३ खेल हुँदा रियलले ७२ र बार्सिलोनाले ६८ खेल जितेका छन् । ३३ खेल बराबरीमा टुंगिएको छ । यसै वर्षको इएल क्लासिकोको पहिलो भिडन्तमा पनि बार्सिलोना र रियलबीच १–१ गोलको बराबरी भएको थियो । बार्सिलोना जिततर्फ अघि बढ्दा रियलका लागि सर्जियो रामोसले ९० औं मिनेटमा ग गोल गरेपछि बार्सिलोना बराबरी नतिजाको लागि बाध्य भएको थियो । अघिल्लो वर्षको रियलको मैदानमा भएको खेलमा बार्सिलोनाले ४–० गोलले रियललाई स्तब्ध पारेको थियो ।