२४ असोज, खोटाङ ।  बसको ठक्करबाट यहाँ एक वृद्धाको आज बिहान घटनास्थलमै मृत्यु भएको छ ।

दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको बा ३ ख ६३३५ नं को बसले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७ वर्षीया जरीकन्या राईको मृत्यु भएको हो ।

वृद्धाको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन् । दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गदै आफन्तले दिक्तेल–हलेसी सडक अवरुद्ध गरेका हुन् । घटनाको अनुसन्धान गर्न र अवरुद्ध सडक खुलाउन टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

दुर्घटनालगत्तै बस चालक अर्जुन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरबाट घाँस काट्न भनेर हिँडेकी राईलाई बयाक्ता भन्ने ठाउँमा सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकका आफन्तले सडक अवरुद्ध गरेपछि शव उठ्न सकेको छैन । घटनास्थल जिल्लाको पश्चिमी क्षेत्र ओखलढुंगाको सिमानामा पर्छ । रासस