१४ फागुन, काठमाडौं । भारतले उत्तर प्रदेशमा आगामी सोमबार हुन लागेको विधान सभा चुनावका लागि नेपालसँगको नाका शिल गरेको छ ।

बाँके र बर्दियाका नाका सिल गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । भारतको बहराइच र श्रावस्तीमा निर्वाचन हुने भएकोले ४८ घण्टा अघि नाका बन्द गरिएको बाँके प्रशासनले जनाएको छ ।

आज बिहान ७ बजेदेखि सोमबार बेलुका साढे ६ बजे सम्म नाका बन्द रहने जनाइएको छ । निर्वाचन सम्पन्न नभएसम्म दुवै तर्फबाट सवारी तथा ढुवानीका साधनको आवतजावतमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए ।

एम्बुलेन्स तथा अत्यावश्यक सामग्री ढुवानीका साधन दुवै देशका अधिकारीको समन्वयमा सन्चालन गर्न सकिने बताइएको छ । भारतबाट नेपाल आउने यात्रुलाई पनि सुरक्षाकर्मीको सहयोगमा वारपार गराइने प्रशासनले जनाएको छ ।