निर्मल भट्टराई
नियम बनाउन जति सजिलो हुन्छ, त्यो नियम पालन गर्न त्यति नै गाह्रो हुन्छ । भन्न सजिलो हुँदोरहेछ, भनेअनुसार गर्न गाह्रो । नयाँ विचार, विधान र कार्य पद्धति सहित अघि बढेको नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूले पुरानो जुत्ता फुकाल्ने प्रतिबद्धता जनाउदै नयाँ शक्तिका सबै नेता कार्यकर्तालाई आफ्नो पुरानो जुत्ता फुकाल्न सबैलाई आग्रह गरेका छन् । साच्चै उनले पुरानो विचार त्यागेकै हुन् त ?

लेखक: निर्मल भट्टराई

लेखक

सही हो, नयाँ शक्ति निर्माणको क्रममा नयाँ शक्तिमा समाहित भएका हजारौं नेता कार्यकर्ताले पुरानै जुत्ता लगाएर वास्तविक नयाँ शक्ति बन्न कठिन हुने प्रायः निश्चित थियो । यहाँ यो भनाईको निहितार्थ केलाउने प्रयत्न गरिएको छ ।

बाबुरामले आफ्नो सबभन्दा उर्जाशील समय माक्र्सवाद, लेनीनवाद र माओवाद नै अन्तिम सत्य हो भन्ने मान्यता राखे । मार्क्सले कल्पना गरेको , लेनिन र माओले प्रयोग गरेजस्तो सर्बहारा अधिनायकत्व र बर्ग निषेधको सिद्धान्तअनुरुपको व्यवस्था नेपालमा भित्र्याउन माओवादी जनयुद्धको नेतृत्व समेत गरे ।

तर सर्बहारा अधिनायकत्व नेपालमा संभव हुने कुरा थिएन । डा.भट्टराईको दूरदृष्टि यहाँ प्रकट भयो । र, प्रचण्डको कठोर माओवादी पार्टी शासनभित्रैबाट लोकतान्त्रिक गणतन्त्रको नारा स्थापित गराएरै छोडे ।

गतबर्ष औपचारिक रुपमै उनले त्यो पुरानो मालेमावादी जुत्ता फुकाले । उनमा आएको बुझाईको गहिराई, संसारमा आएको भिमकाय परिवर्तन र अन्य विभिन्न कारणले यो संभव भयो । एउटा राजनेताले यसरी आफ्नो वैचारिक कोर्स करेक्सन गर्न तयार हुनु आफैमा एक ऐतिहासिक घटना हो ।

जसरी डा.भट्टराईले वैचारिक कोर्स करेक्सन गरे, हिजोको राजनीतिक एवम् व्यक्तिगत व्यवहारमा स्वभाविक रुपमा परिवर्तन हुने नै भयो । किनभने विचार व्यवहारमा परिवर्तन नभई आशातित परिणाम आउदैन भन्ने एक राजनेताले नबुझ्ने कुरा भएन ।

डा.भट्टराईसंग विगतमा संगत गर्नेहरु भन्छन् – उनी सांगठानिक मामिलामा धेरै कमजोर छन् । तिनीहरुलाई के थाहा, संगठन त विचार, विधि र पद्धतिले आफै बनाउछ । प्रचण्ड वरिपरिको झुण्ड ( विधि, पद्धतिले नचलेको हुनाले यसलाई संगठन भन्न सकिदैन ) भन्दा नयाँ शक्तिको संगठन दिनदिनै व्यापक र मजबुत बन्दै गएको सबैले अनुभूत गरेका छन् ।

नेतृत्वले त केवल विचार निर्माण गर्ने, विचार बमोजिमको विधि विधान बनाउने र त्यसलाई पालन गर्न गराउन परिणाममुखी अग्रसरता देखाउने हो । तृणमुल तहमा संगठन त कार्यकर्ताले बनाई हाल्छन् ।

उनका अर्काथरी पूर्व संगातीहरु भन्छन्– बाबुरामको नेतृत्व क्षमता पनि छैन, निर्णय क्षमता छैन । यो त झन फजूल आरोपमात्र हो ।

पहिलो, भिजनसहितको मिसन बनाउन सक्ने नेता नै नेतृत्व क्षमता भएका नेता हो ।

दोश्रो, निर्णय त बाबुराम एक्लै गर्ने नै होईन । नयाँ शक्तिजस्तो लोकतान्त्रिक पार्टी “सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी” को सिद्धान्तमा आधारित छ । बाबुराम नेतृत्वको सफलता त्यतिबेला हुनेछ, जतिबेला नयाँ शक्तिका सबै नेताले निर्णयको स्वामित्व समानरुपमा ग्रहण गर्नेछन् । प्रचण्डजस्तो सबै शक्ति आफैमा केन्द्रित गरी अरुलाई चेसको गोटीजस्तो चलाउने सुविधा डा. भट्टराईलाई छैन ।

बाबुराममाथि अर्को आरोप लाग्ने गरेको छ – उनी एकमनावादी छन्, सानो घेरामा रमाउछन् । यो त झन् हाँस उठ्तो आरोप भयो । हो, हिजो युद्धकालीन माओलादीमा मुख्य नेताको सबभन्दा विश्वासपात्रहरुको भित्री घेरा हुन्थ्यो होला, हेडक्वार्टर हुन्थ्यो होला, घोषित अघोषित कोर टीम बनाईन्थ्यो होला, नेतृत्वका आलोचकहरुको हुर्मत काडिन्थ्यो होला, त्यो विलकुल भिन्न बेला र प्रशङ्ग थियो ।

अहिले बाबुराममा आरोप लगाईएजस्तो एकमनावादी सोच छैन । प्रत्यक्ष लोकतन्त्रमा आधारित पार्टी हुनुको नाताले माओवादीमा जस्तो निषेधको राजनीति नयाँ शक्तिमा संभव छैन भन्ने उनलाई राम्ररी थाहा छ ।

सत्य स्वीकार्नै पर्दछ, बाबुराम माओवादीमा रहुन्जेल बाहिर ठूलो प्रभाव भएर पनि सो पार्टीको संगठनमा उनको प्रभाव जमाउन दिइएन । तर जब उनले वैचारिक र व्यवहारिक रुपमा माओवादी जुत्ता फुकाले, उनको घेरा विशाल बन्दै गएको छ ।

अब बाबुरामलाई सानो घेरामा रमाउनु पर्ने न चाहना छ, न आवश्यकता नै ।

नेपाली राजनीतिक बजारमा बाबुरामप्रति यस्तो आशंका पनि गरिंदो रहेछ– साठी बर्षको उमेरसम्म माओवादी राजनीति गरेका बाबुराम साँच्चिकै लोकतन्त्रवादी नेता बन्लान् र ?

डाईनामाइटका आविस्कारक अल्फ्रेड नोबलको दाजुको मृत्यु हुँदा अल्फ्रेड नोबल मर्यो भन्ने गलत सूचनाको आधारमा भोलिपल्ट एउटा समाचार छापियो– “जनताको हत्यारा मर्यो” ।

बैज्ञानिक नोबललाई हत्याराको संज्ञा साह्रै मन परेन । त्यो संज्ञाबाट मुक्त हुन पछि उनले नोबल पुरस्कार स्थापना गरे । उनको अर्कै परिचय स्थापित भयो । अंगुलीमाला बुद्धभक्त बने । ईतिहासका यस्ता कैयौं महान पात्रहरुमा नाटकीय परिवर्तन आएको छ भने लोकतन्त्रप्रतिको बाबुरामको वर्तमान निष्ठामा किन शंका गर्ने ?

महाभारतकी एक प्रमुख पात्र कुन्तीलाई उनले जसलाई आव्हान गरिन्, ऊ उनको अगाडि हाजिर हुन्छ भन्ने वरदान थियो । तरुणी कुन्तीले सूर्यलाई आव्हान गरिन् । कुन्तीको अगाडि सूर्य हाजिर भए । कुन्तीले आफूलाई सूर्य समक्ष सुम्पिन् । यो कुनै जबरजस्ती थिएन । यो घटना केवल वरदान परीक्षणका लागि कुन्तीले चालेको कदम थिएन । परिणामस्वरुप महादानी कर्ण जन्मे ।

ठीक त्यसरी नै डा.भट्टराईले तीन वीस उमेर काटेपछि प्रत्यक्ष लोकतन्त्रको आव्हान गरे । आज उनको अगाडि लोकतन्त्र हाजिर छ । उनले आफूलाई लोकतन्त्रमा समाहित गर्नु बाहेक अरु कुनै विकल्प छैन । र, बाबुरामले लोकतन्त्रको आव्हान जीवन पद्धति बनाउनका लागि गरे कि केवल परीक्षणका लागि गरे भन्ने बहस गर्नु समयको बर्बादी मात्र हो ।

लेखकका अन्य लेख:
बाबुरामलाई नयाँ शक्तिको “प्रचण्ड” हुनबाट जोगाउने उपाय
किन उठ्यो नयाँ शक्तिमा योग्यताको बहस ?
मार्क्स, भानुभक्त र हाम्रो वैचारिक धरातल