कार्ल मार्क्सले करीब पौने दुई सय बर्ष पहिले दर्शन, समाजसास्त्र र राजनीतिको बारेमा अघि सारेका अवधारणा हुबहु सही छन् भन्ने कम्युनिष्टहरु अझै नेपालमा थुप्रै छन् ।

लेखक: निर्मल भट्टराई

लेखक: निर्मल भट्टराई

राजनीतिमा उनले घोषणा गरेका थिए–वर्ग संघर्षमा सर्वहारा वर्गले पुँजीपति वर्गलाई परास्त गर्ने छ । सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण हुनेछ । सबैलाई राज्यले योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दाम प्रदान गर्ने साम्यवादी ब्यवस्था लागू हुनेछ । यतिमात्र होइन, उनल कल्पना गरेको साम्यवादीे संसारमा मुद्रा, सेना, प्रहरी र राज्यको सीमा समेत आवश्यक पर्ने छैन भनेका थिए ।

[quote_box_center]

  • रुस, चीन, उत्तर कोरियालगायतका देशमा गरिएका विभिन्न अभ्यासले देखाएको छ–मार्क्सले गरेको त्यो भविष्यवाणी सही थिएन।
  • मार्क्सका समकालीन भानुभक्तको तत्कालीन बुझाई सत् प्रतिशत असत्य हुने अनि मार्क्सको तत्कालीन बुझाई चाँहि सत् प्रतिशत सही हुने ?
  • समयअनुसार विचार सान्दर्भिक छ कि छैन उनीहरु हेर्दैनन् बरु खुरुखुरु त्यसका भक्त भई दिन्छन् । विचारको लत बसेको छ । कोही आफ्नो बनिबनाउ वैचारिक आस्थामा प्रश्न गर्न थाल्यो भने ऊ सबैको तारो बनिहाल्छ । गालीको शिकार हुन्छ, कारवाहीको भागिदार हुन्छ ।

[/quote_box_center]

रुस, चीन, उत्तर कोरियालगायतका देशमा गरिएका विभिन्न अभ्यासले देखाएको छ–मार्क्सले गरेको त्यो भविष्यवाणी सही थिएन । वर्ग संघर्षको नाममा नेपालमा तत्कालीन मालेले झापा लगायत क्षेत्रमा गरेको व्यक्ति हत्या र तत्कालीन माओवादीले गरेका ज्याजती मार्क्सको अवधारणा अनुरुप भए पनि नेपालको धरातलीय यथार्थमा आधारित थिएनन् । व्यवहारमा आउन नसक्ने सिद्धान्त पण्डितले वेदका ऋचा घोकेझैं नेपालको राजनीति कति दिन चल्ने हो ? मार्क्स अहिलेसम्म बाँचेका भए आफ्ना ती धारणा देखेर उनी आफैं कति हाँस्ता हुन् !

मार्क्सकै समयमा नेपालमा भानुभक्त कविता लेख्दै थिए । उनले लेखेको कविताको एक हरफ यस्तो छ – “हाँस्नु हुदैन कदापि नारीहरुले वेश्या हुन्या हाँस्तछन् ।” नेपाली पाठकहरुले त्यस हरफलाई सत्यको रुपमा लिए । फलस्वरुप लामो समयसम्म नेपाली महिलाले हाँस्न समेत पाएनन् । नेपाली महिलाले लुकेर वा पछ्यौराले मुख छोपेर हाँसेको हामीले देख्यौं । अब भानुभक्तको त्यो हरफ केवल हाँस्ने विषयमात्र हो । मार्क्सका समकालीन भानुभक्तको तत्कालीन बुझाई सत् प्रतिशत असत्य हुने अनि मार्क्सको तत्कालीन बुझाई चाँहि सत् प्रतिशत सही हुने ?

यसो हुनुमा अधिल्लो पुस्ताका बाम नेताहरुको ठूलो दोष छ । उनीहरुले आफ्ना पछिल्ला पुस्तालाई यसरी मार्क्सको राजनीतिक रुपमा अप्रासाङ्गिक विचारलाई रटान गराइयो कि मानौं उनका हरेक विश्लेषण ईश्वरवाणी हुन् । र, उनका विचारप्रति आलोचनात्मक सोच राख्ने सबैलाई दक्षिणपन्थी, संशोधनवादी वा प्रतिक्रियावादीको विल्ला भिराउन थालियो । यसको यति लामो श्रृङ्खला बन्यो कि सबै फेहरिस्त प्रस्तुत गर्न यहाँ सम्भव छैन । उनीहरुलाई विचारको एकोहोरो लत लगाइयो । लत वा बानी कहिलेकहीं कति खतरनाक हुन्छ यहाँ एक प्रशङ्ग हेरौ ।

अलेक्जेन्ड्रियामा कुनै बखत एउटा ठूलो पुस्तकालयमा आगो लाग्यो । आगोले आधी डढेका पुस्तकहरु यत्रतत्र छरिए । एकजना मानिसले ती डढेका पुस्तक पल्टाउदै गर्दा एउटा आधी डढेको पुस्तकभित्र एउटा कागजको टुक्रा फेला पार्यो । टुक्रामा लेखिएको थियो–“नजिकैको समुन्द्रको किनारमा रहेका हज्जारौं ढुङ्गा छन् ती मध्ये एक ढुङ्गा अरुभन्दा तातो छ । त्यो भेट्ने मानिसले त्यस उपरान्त संसारको सबै सुन प्राप्त गर्नेछ ।”
त्यो मानिस भोलिपल्टदेखि किनाराका चिसा ढुङ्गा टिप्दै छाम्दै समुन्द्रमा फाल्न थाल्यो । एक दिनमा सकिने काम थिएन त्यो । दिन प्रति दिन ऊ ढुङ्गा फाल्न अभ्यस्त भयो । टिप्दै फाल्दै, टिप्दै फाल्दै । अन्तीमतिर उसले भनिएको तातो ढुङ्गो त भेट्टायो तर त्यो तातो छ कि चिसो छ भन्ने मुख्य कुरा विर्सियो र पूर्ववत् समुन्द्रमा फालिदियो । विचरा उसको सारा श्रम खेर गयो ।

ठीक त्यसरी नै नेपाली नेताहरुले आफ्ना कार्यकर्तालाई विचारको लत बसाइदिएका छन् । समयअनुसार विचार सान्दर्भिक छ कि छैन उनीहरु हेर्दैनन् बरु खुरुखुरु त्यसका भक्त भई दिन्छन् । विचारको लत बसेको छ । कोही आफ्नो बनिबनाउ वैचारिक आस्थामा प्रश्न गर्न थाल्यो भने ऊ सबैको तारो बनिहाल्छ । गालीको शिकार हुन्छ, कारवाहीको भागिदार हुन्छ ।

वास्तवमा विचार मानिसका लागि हो, मानिस विचारका लागि होइन । कुनै विचारले मानवमात्रको हित र उन्नति गर्दैन भने त्यो विचार केवल बोझ हो, मानसिक प्रदुषण हो । देशलाई अग्रगति दिन चाहनेले यस्तो बोझ र मानसिक प्रदुषणबाट आफूलाई पृथक राख्न सक्नु पर्छ ।