३० बैशाख, एजेन्सी ।

विश्वमा पहिलो पटक सुर्तीको बिरुवाबाट बनाइने बायोडीजेलबाट व्यावसायिक विमान चलाउँने तयारी गरिँदैछ । यसमा सबैभन्दा अग्रस्थानमा छ दक्षिण अफ्रिकी एयरवेज ।

गत बर्षको जुलाईमा यो कम्पनीले परिक्षणका लागि ३०० यात्रु बोक्ने जेट विमानलाई जोहानसबर्गबाट केपटाउन बीचको १२८० किलोमिटर उडाएको थियो । अब अमेरिकी कम्पनी बोइंग पनि यस देशमा ‘दक्षिण अफ्रिकन एयरवे’सँग सहकार्य गर्दैछ । यदि ठूलो मात्रामा बायोडीजेल प्रयोग गर्न सम्भव भयो भने यो सस्तो र पर्यावरणका लागि पनि राम्रो हुन्छ ।

बायोडीजेल(विमानमा प्रयोग हुने डीजेल) धेरै चीजबाट बनाउँन सकिन्छ । यसमा एल्गी, एग्रीकल्चरल वेस्ट र क्यामेलिना तथा जेट्रोफा रुख प्रमुख हुन् । दक्षिण अफ्रिकामा तमाखु वा सुर्ती स्थानिय अन्नबाली हो र यसको निर्यात गर्न पनि सजिलो हुने भएकाले यसलाई प्राथमिकता दिइयो । तमाखुका बिरुवाबाट इन्धन बनाउँनका लागि ‘सोलरीस’ प्रजातिको बिरुवाको प्रयोग(रोप्ने काम) भइरहेको छ । यो सूर्तिको बिरुवा भएपनि यसमा निकोटिनको मात्रा एकदमै कम हुन्छ ।

दक्षिण अफ्रिकी एयरलाइन्स यसै बर्षदेखि ‘टोब्याको बायोफ्यूल’को प्रयोग गर्ने तयारी गरेको छ । सुरुवातमा फोसिल फ्यूलमा नै बायोडीजेलको केही अंग मिसाएर प्रयोग गरिनेछ । विमान कम्पनीले सबैभन्दा बढी खर्च इन्धनमा गर्ने गर्छ । अन्तराष्ट्रिय हवाई ढुवानी संघका अनुसार, यदि बायोडीजलको प्रयोग हुन थाल्यो भने उड्ययन उद्योगको कार्बन उत्सर्जन  ८० प्रतिशत कम हुनेछ । यसले जलवायु परिवर्तन कम गर्न ठूलो भूमिका खेल्न सक्छ।