११ फागुन, सिराहा । देश टुक्र्याउने अभिव्यक्ति दिएका कारण प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई थप दश दिन म्याद थप गरिएको छ ।

सिरहा जिल्ला अदालतले आज तेस्रो पटक थप दस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएको आरोपमा राउत गएको माघ २० गते धनुषाको जनकपुरबाट पक्राउ परेका हुन् ।

राउत अहिले अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका छन् ।

हिरासतबाटै उनले सामाजिक सञ्जाल अपडेट गर्दै मधेशका नागरिकलाई आन्दोलनका लागि उक्साइरहेका छन् ।

यसैबीच, राउतका कार्यकर्ताले सिरहा सदरमुकाम जाने सडकमा पर्ने भलुवाही चोकमा झुण्ड्याएको ‘फ्रि मधेस’ लेखिएको ब्यानर प्रहरीले हटाउँदै गर्दाको फोटो खिच्दा पत्रकार कुटिएका छन् ।

राउत समर्थकहरुले झुण्ड्याएको ब्यानर प्रहरीले हटाउँदै गर्दाको फोटो खिच्दा प्रहरीले कुटपिट गरेको माउन्टेन टिभीका स्थानीय संवाददाता सुरेन्द्र कामती कुटिएका हुन् ।
पत्रकार महासंघ जिल्ला शाखाले विज्ञप्ती जारी गरेर आक्रमणकारीलाई कारवाही गर्न माग गरेको छ ।