१३ वैशाख , काठमाडौं ।

धेरै नेता कार्यकर्ताको जालो रहेको नेपाली कांग्रेसमा स्थानीय तहको निर्वाचनमा उठाउने उम्मेदवारमा सकस परिरहेका बेला नेता रामचन्द्र पौडेलले पार्टी बैठकमा बबन्डर मच्चाएका छन् । पार्टी केन्द्रले एक दिन अघि क्षेत्रीय समितिको उम्मेदवार छनोट समितिमा महासमिति र महाधिवेशन प्रतिनिधिसमेत सहभागी भएर उम्मेदवार छान्ने गरी परीपत्र गरे पनि पौडेलले तीव्र असन्तुष्टि जनाएपछि मंगलबार सभापति शेरबहादुर देउवा पछाडि फर्कन बाध्य भएका हुन् ।

यो पढ्नुस् : कांग्रेसले बल्ल भन्यो भारतको अमानवीय नाकाबन्दी

उम्मेदवार चयनमा सकस पर्दै गर्दा सभापति देउवाले महामन्त्री डा. शशांक कोइरालाको सहमति लिएर महासमिति र महाधिवेशन प्रतिनिधिसमेतको सहमतिमा बहुमतका आधारमा टिकट दिने निर्णय गराएका थिए । तर, यसबाट आगो भएका नेता पौडेलले मंगलबारको बैठकमा यसरी सदस्य थप्न नहुने भन्दै बबन्डर मच्चाएपछि देउवा पहिलेकै निर्णय कायम गर्न बाध्य भएका थिए ।

पौडेलको राजीनामा दिनेसम्मको धम्की
पौडेलले महासमिति र महाधिवेशन प्रतिनिधिलाई छनोट समितिमा राख्ने हो भने राजीनामा दिएर असहयोग गर्नेसम्मको धम्की दिएकोले सभापतिले बैठक डाकेर एक दिन अघिको निर्णय फिर्ता लिएको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । आफूसँग सहमति नै नगरी तल्लो तहमा सर्कुलर गरेको भन्दै पौडेलले केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई घरमैं बोलाएर हकारेका थिए ।

किन थपे देउवाले ?
यसपटक जिल्लामा नयाँ अनुहार पनि आएको भन्दै देउवाले पुराना नेतासमेत हुने भएकोले महासमिति र महाधिवेशन प्रतिनिधिकोसमेत सहमतिमा बहुमतका आधारमा उम्मेदवार छान्दा विवाद नहुने भन्दै यस्तो निर्णय गराएका थिए ।

किन हटाउन तयार भए पौडेल ?
तर, पौडेलले सभापतिमा जितेपछि देउवाको पकड महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा हुँदा यिनीहरुसमेत सहभागी भएको समितिले टिकट दिंदा आफ्नो पक्षका उम्मेदवार चयन नै नहुने भन्दै आपत्ति जनाएको बुझिएको छ । साथै, पौडेललाई जिल्ला सभापतिहरु आफ्नो पक्षका धेरै रहेको विश्वासका काररण पनि यसरी सदस्य थप्न इन्कार गरेका हुन् ।

कांग्रेसले १६ चैतमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, सांसद, दोस्रो संविधानसभामा प्रत्यक्षका तर्फका उम्मेदवार, क्षेत्रीय सभापतिमा उठेका उम्मेदवार, जिल्ला सभापति रहने क्षेत्रीय सभापतिको नेतृत्वमा उम्मेदवार छनोट समिति गठन गरेको थियो । तर, समितिलाई दिएको वैशाख ७ गतेसम्मको उम्मेदवार पठाइसक्नुपर्ने निर्णय २४० वटै क्षेत्रीय समितिले पूरा गर्न सकेका छैेनन् । उनीहरुलाई पहिले सर्वसम्मत रुपमा र सहमतिमा उम्मेदवार चयन गर्न भनिए पनि समयमा नआएपछि अधिकतम सहमतिमा उम्मेदवार छान्न सर्कुलर गरिएको थियो । तर, कांग्रेसलाई ४ महानगर, १३ उपमहानगर र बाँकी नगरपालिका र गाउँपालिका गरी जम्मा ७४४ वटै स्थानीय तहमा उम्मेदवार छनोट गर्न सकस परिरहेको छ । १८ वैशाख उम्मेदवार मनोनयनको अन्तिम दिन हो ।