रिस सबैलाई उठ्छ। अन्य भावावेश वा मनोभाव झै रिस सामान्य अनि प्राकृतिक मानसिक प्रक्रिया हो। तर यो मानसिक भावनाले शरीरमा कस्तो प्रभाव पार्ला?
शारीरिक प्रभाव
रिस आउना साथ शरीरमा ‘फाइट अर फ्लाइट’ (लड वा भाग)को स्थिति सृजना हुन्छ। रिसले बाहेक यो स्थिति डर, खुशी, विभिन्न उत्तेजना तथा चिन्ताले पनि ल्याउँछ। एन्ड्रिनल ग्याल्डले शरिमा स्ट्रेस हर्मोनको प्रभाव गर्छ। यी हर्मोनहरुमा एड्रिनलिन र कर्टिशोल हुन। शारीरिक प्रतिक्रियाको तयारीका लागि मस्तिष्कले पेटको क्षेत्रमा रगतलाई मसल्स तर्फ प्रवाह गर्छ। मुटुको चाल, ब्ल्ड प्रेसर र स्वासप्रश्वास बढ्छ, शरीरको तापक्रम बढ्छ अनि पसिना छुट्छ। मस्तिष्क तेज अनि फोकस्ड बन्छ।
स्वास्थ्यमा प्रभाव
निरन्तरको रिसले शरीरमा निरन्तर प्रभाव हुने स्ट्रेस हर्मोन र यसले शरीरमा ल्याएको परिवर्तनले विभिन्न प्रणालीलाई हानी पुर्याउँछ।
रिस नियन्त्रण नहुँदा यसले ल्याउने तत्कालीन र भविष्यमा यी समस्या आउँछन्ः
- टाउको दुख्ने
- पाचनक्रियामा समस्या, पेट दुख्ने
- इन्सोमेनिया, अर्थात निन्द्रा नलाग्ने
- चिन्ता
- डिप्रेसन
- उच्च रक्तचाप
- छालामा समस्या जस्तै एक्जिमा अर्थात छाला खस्रो हुने, पोल्ने, खटिरा आउँने आदी
- हृदय घात
रिस पोख्ने/नियन्त्रण गर्ने स्वस्थ तरिका
भनिन्छ, रिसले आखा देखिदैन, अर्थात अत्याधिक रिसको बेला कुनै पनि कार्य सही लाग्दैन। रिसले आफूलाई गर्ने
हानी मनन गर्ने व्यक्तिले रिस आइहाले यी कुरा गरेर रिस कम गर्न सक्दछ।
- रिसको कारण नियन्त्रण गुम्न खोजे, तत्काल त्यो स्थान, वा व्यक्तिबाट टाढा जानुस्।
- रिस जीवनको अथार्थ हो, यो समान्य प्राकृतिक प्रक्रिया भएको स्वीकार गर्नुस्।
- रिसको मूख्य कारण पत्ता लगाउने कोसिस गर्नुस्। कतै बिनाकारण वा भावावेशमा पो रिसाइयो कि?
- कारण पत्ता लागेपछि सोचविचार गरेर सो कारण दुर गर्ने प्रयास गर्नुस्। त्यही बारे सोचेर रिस बढाउनु बुद्धिमानी होइन।
- केही शारीरिक काम गर्नुस्, जस्तो हिड्ने, दौडने वा खेल खेल्ने।
- आफले विश्वास गर्ने कोही नजिकको व्यक्तिलाई आफ्नो कुरा सेयर गर्नुस्।
- रिसबाट नितान्त मुक्ति चाहनुहुन्छ भने, योग वा ध्यान गर्नुस्।
गर्न नहुने
- रिस आउनासाथ, पड्किने, चिच्याउने, भाडाँकुँडा फाल्ने, पिट्ने नगर्नुस्। यसले समस्या समाधान हुँदैन। उल्टै आफ्नै स्वास्थ्य बिग्रन्छ, र अन्यसंगको सम्बन्ध पनि बिग्रन्छ।
- रिसलाई नदबाउनुस्। रिसबाट भाग्ने होइन, लड्ने हो।