८ मंसिर, काठमाडौं । हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै शिवम् सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारु पक्राउ परेका छन् ।

शिवम सिमेन्ट उद्योगका प्रमुख मारुलाई जिल्ला वन कार्यालय मकवानपुरले गएको कात्तिक २८ गते नै पक्राउ गरेर हिरासतमा राखे पनि घटना गुपचुप रहेको थियो । पक्राउ गरे लगत्तै अदालतमा म्याद थप गरेर हिरासतमा राखिएको थियो ।

शिवम्ले सञ्चालन गर्दै आएको साविकको सुकौरा गाविस– ६ को चपकी खानी र ठिंगन गाविसको वडा नम्बर ९ मा रहेको चुनढुङ्गा खानी अबैध रुपमा उत्खनन् गरेको भन्दै उद्योगका प्रमुख मारुलाई पक्राउ गरिएको हो ।

दुबै खानीमा उत्खनन् गर्नका लागि विभागसँग स्वीकृति लिएभन्दा बढी उत्खनन् गरिएकाले पक्राउ गरिएको हो । जिल्ला वन कार्यालय मकवानपुरले स्वीकृति लिएभन्दा बढी खानी उत्खनन् गरेकाले पक्राउ गरेको जनाएको छ । पक्राउ गरिएपछि उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र न्यौपानेले बताए ।

तोकिएभन्दा बढी क्षेत्रमा शिबम सिमेन्ट उद्योगले खानीको उत्खनन् गर्दै आएको गुनासो बढ्दै गएको थियो । त्यसलगत्तै जिल्ला वन कार्यालय मकवापनुरको टोलिले खानी क्षेत्रको स्वीकृति लिएको क्षेत्र र अरु क्षेत्रको नापी गरेपछि अदालतमा मुद्दा दायर गरिएको थियो ।