१७ पुस, काठमाडौँ।

चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ ।nepal-india-flag

भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले नेपाली समयअनुसार दिउँसो सवा २ बजे विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ ।

नेपाल समूह एकको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह बीको उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दुई वर्षअघि पाकिस्तानमा भएको तेस्रो साफ महिला च्यापियनसिपमा नेपाल फाइनल खेलमा भारतसँग भिडेको थियो । त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो ।

समूह चरणमा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हासिल गर्दै ९ अङ्क जोडेको छ । नेपालले पहिलो भुटानविरुद्वको खेलमा ८–० को जित हासिल गरेको थियो । त्यसैगरी माल्दिभ्सलाई ९–० तथा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै समूह चरणको खेलमा दुई खेल खेलेको भारतले एक खेलमा जित तथा एक खेलमा गोलरहित बराबरी खेलेको थियो । भारतले अफगानिस्तानलाई ५–१ गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो । भारतको चार अङ्क छ ।

सोमबार नै हुने अर्को सेमिफाइनल खेलमा बङ्गलादेश र माल्दिभ्स आमनेसामने हुनेछन् । रासस