राजा जनकले आयोजना गरेको सीताको स्वयम्वरमा भगवान रामले शिव धनुष उठाएर भाँचेपछि सीतासँग विवाह भएको कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो। हिन्दु धर्मका ग्रन्थअनुसार त राम र सीता सँगै हुन लेखेकै थियो या भनौँ पर्दापछाडिबाट कसैले उनीहरूको विवाहको पहिल्यै देखि योजना बनाइसकेको थियो।
हामीले अझसम्म के विश्वास गर्दै आएका थियौँ भन्दा सीतालाई रावणले दण्डकर्न्यको जङ्गलबाट अपहरण गरेर लगेपछि मात्रै सीता र रावणको भेट भएको हो। तर, के तपाईँलाई थाहा थियो, सीताको स्वयम्वरमा नै उनले झण्डै रावणसँग विवाह गर्नुपरेको थियो।
राजा जनकले सीताको स्वयम्वरको घोषणा गरे
सत्य युगको नियम थियो, दुलहीका पिताले आफ्नी छोरीसँग विवाह गर्नका लागि प्रतिस्पर्धामा सबै राज्यका राजा र राजकुमारहरूलाई निमन्त्रणा गर्नुपर्ने हुन्थ्यो। सोहि नियमानुसार, राजा जनकले लङ्काको राजा ‘रावण’लाई पनि निमन्त्रणा गरेका थिए।
सीताको चिन्ता
सीतासँग विवाह गर्नको लागि प्रतिस्पर्धामा शिव धनुष उठाउनु पर्ने राजा जनकले सर्त राखेका थिए। किनभने उक्त धनुष केवल शिव भक्तले मात्र उठाउन सक्थे। शिवको भक्त भएकाले नै सीताले पनि सो धनुष सजिलै उठाउन सक्थिन्।
स्वयम्वरमा रावणलाई देखेपछि सीताको मन आत्तिन थालेको थियो किनभने रावण पनि शिवको महान भक्त थिए भनेर उनलाई राम्रोसँग थाहा थियो। रावणको दुष्टताको बारेमा पनि उनलाई पुरै ज्ञान थियो। साथै रावणको अर्की पत्नी पनि थिइन्, मन्दोदरी। आफ्नो विवाह रावणसँगै हुने सम्भावना देखेपछि, सीताको मन नआत्तिने त कुरै भएन। यसपछि उनले माता ‘रानी सुनैना’सँग आफ्नो मनको डर सबै छताछुल्ल पारेर पोखिन्।
माता रानी सुनैनाको सल्लाह- “गौरी पुजा”
सीताको यो डरलाई सुनेर माता सुनैनाले उनलाई ‘गौरी पुजा’को बारेमा विस्तृत बताइन।
“हिन्दु धर्ममा मानिने मूख्य देव-देवी मध्ये भगवान शिव र उनकी पत्नी ‘पार्वती’ (गौरी)को जोडीलाई ‘पवित्र दम्पत्ती’को रूपमा चिनिन्छ। त्यसैले, जसले शुद्ध चित्त र आत्मा लिएर यी जोडीसँग आशिर्वाद माग्छन्, उसको दाम्पत्य जीवन सुखमय हन्छ र अविवाहितहरूले पनि मन-मिल्ने जीवनसाथी पाउँछन्। शिव र पार्वतीको जोडीबाट आशिर्वाद पाउनकै लागि नै ‘गौरी पुजा’ गरिन्छ। अधिकांशले यसलाई ‘गौरीशङ्कर पुजा’ पनि भन्ने गर्छन्।”
त्यसपछि, माता सुनैनाले सीतालाई ‘गौरी मन्दिर’मा गई ‘गौरी पुजा’ गर्ने सल्लाह दिइन्। उनले त्यो रातभरी नै गौरीशङ्करको मन्त्र जपेर बसिन्।
सीता र रामको भेट
राजा जनकको निमन्त्रणा स्वीकारेर राम, लक्ष्मण र साधु विश्वामित्र अयोध्यातर्फ लाग्दै गर्दा उनीहरूले राजा जनकलाई भेटे। जनकको आग्रहअनुसार, त्यो रात उनीहरूले दरबारमै बिताए। भोलिपल्ट राजा जनकले राम, लक्ष्मण र विश्वामित्रको लागि धुमधाम स्वागत कार्यक्रमको आयोजना पनि गरे। कार्यक्रम सम्पन्न भैसकेपछि, राम र लक्ष्मण नजिकैको जङ्गलमा चहार्न लागे, जहाँ रामले पहिलोचोटि सीतालाई भेटे। त्यतिबेला, सीता र उनकी बहिनी उर्मिला भर्खरै गौरी मन्दिरबाट दरबार फर्किँदै थिए।
विश्वामित्रसँग राजा जनकको आग्रह
त्यस साँझ, राजा जनकले विश्वामित्रसँग सीताको स्वयम्वरको योजना पनि सुनाए। साथै, राम र लक्ष्मण राजकुमार भएकाले उनीहरूलाई पनि स्वयम्वरमा प्रतिस्पर्धा गर्नको लागि विश्वामित्रसँग जनकले आग्रह गरे।
शिव भक्त रावणको स्वयम्वरमा प्रवेश
यतिबेलासम्म राजा जनकको निमन्त्रणामा, रावण पनि स्वयम्वर भवनमा प्रवेश गरिसकेका थिए। उनको प्रवेश अनि शिवको महाभक्त भएको खबर जताततै फैलिन थाल्यो। अब शिव धनुषलाई केवल रावणले मात्रै उठाउन सक्छन् भनेर सबैले मानिसकेका थिए। सीताको डर झन्-झन् बढ्दै थियो।
स्वयम्वर कार्यक्रम सुरु भयो
सीतालाई आफ्नी पत्नी बनाउन चाहने थुप्रै थिए। देश-विदेशबाट थुप्रै राजा र राजकुमारहरू पनि आएका थिए। प्रतिस्पर्धाको नियमानुसार सबैले शिव धनुष उठाउन प्रयास गरे, तर अँह, कसैले पनि धनुषलाई हल्लाउन सकेनन्। उता राम र लक्ष्मणको भने प्रतिस्पर्धामा भाग लिने कुनै चाहना थिएन। उनीहरू त स्वयम्वरको दृश्य हेरेर रमाइराखेका थिए।
रावणको पालो
आफू जत्तिको शिवभक्त यो दुनियाँमा कोहि पनि छैन भनेर घमण्ड गर्ने रावणले पनि शानका साथ धनुष तर्फ अघि बढे। सीताको ढुकढुकीको कुनै सीमा थिएन। अन्य पाहुनाहरूको मनमा पनि नानाथरी कुराहरू खेल्न थालेका थिए।
सबैको आशङ्का अब वास्तविकतामा परिणत भैसकेको थियो किनभने रावणले शिव धनुष उठाउन सफल भएका थिए। तर घमण्डको बोझले गर्दा रावणले उठाइसकेको धनुष पनि भुइँमा झार्नुपर्यो।
रामको पालो
प्रतिस्पर्धामा सहभागी नहुने निर्णय गरेका रामलाई विश्वामित्रले अनेकौँ आग्रह गरे। अन्ततः रामले विश्वामित्रको आग्रहलाई स्वीकार गरी सजिलैसित ‘शिव धनुष’लाई उठाए। सबैजना छक्क! त्यति मात्रै कहाँ हो र? धनुषमा वाण चढाउने क्रममा धनुष दुइ टुक्रा भइ भाँच्चियो।
अन्ततः सीता र रामको विवाह सम्पन्न भयो
यदि रामले प्रतिस्पर्धामा भाग नलिएको भए, सीताको विवाह पक्कै पनि रावणसँगै हुनेथ्यो। तर त्यस्तो भएन। गौरी माताको आशिर्वादले गर्दा नै सीताले रामलाई पाएको हिन्दु धर्ममा विश्वास गरिन्छ।
‘रामायण’को यो रोचक कथाप्रसङ्गबाट धेरै ज्ञानका कुराहरू सिक्न सकिन्छ। मूख्यतः हामीले आफ्नो शक्तिप्रति कहिल्यै पनि घमण्ड गर्नुहुँदैन। अर्को कुरा भनेको, जस्तो सुकै विषम् परिस्थितीमा पनि सीताले हार खाएकी थिइनन्, धैर्य भएर बसेकी थिइन्। उनलाई आफ्नो कर्मप्रति विश्वास थियो।