५ असोज, काठमाडौं । महानगरीय प्रहरी कार्यालयले उपत्यकाको शान्तिसुरक्षा चुस्त र प्रभावकारी बनाउन शङ्कास्पद गतिविधिको सम्बन्धमा सूचना पाएको पाँच मिनेटभित्र प्रहरी सेवा पुग्ने गरी सुरक्षाव्यवस्था मिलाएको छ ।

महान् चाड दसैँ, तिहार र छठलाई लक्षित गरी एक महिना लामो सुरक्षा योजना बुधबार सार्वजनिक गर्दै महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) जयबहादुर चन्दले सूचना आएको पाँच मिनेटभित्र प्रहरीसेवा उपलब्ध हुने बताउनुभयो ।

त्यस्तो सेवा लिनका लागि उपत्यकावासीले तत्काल प्रहरी कन्ट्रोल–१०० मा फोन गर्नुपर्नेछ । महानगरीय प्रमुख चन्दले भन्नुभयो, “दसँै, तिहार र छठका अवसरमा हुनसक्ने सम्भावित घटना तथा दुर्घटना हुन नदिन ठूलो सङ्ख्यामा सादा पोसाकका प्रहरी परिचालन गरेका छौँ । ” आजको गोरखापत्रमा खबर छ ।

अपराध भइहाले पनि त्यसको सूचना तत्काल नजिकको प्रहरी कार्यालय तथा प्रहरी कन्ट्रोलमा गरिदिए प्रहरीलाई अपराध नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । चाडबाड मनाउन गृहजिल्ला फर्किनेहरूलाई घर–कोठा सुरक्षित ढङ्गले बन्द गर्नसमेत सुझाव दिनुभयो ।

‘अपराधविरुद्धको ऐक्यबद्धता, महानगरीय प्रहरीको प्रतिबद्धता’ भन्ने मूल नारा सहितको उपत्यकावासीको शान्तिसुरक्षाका लागि २२ बँुंदे अपिल सार्वजनिक गर्दै डीआईजी चन्दले यस पटकको दसँै, तिहार र छठपर्वलाई शान्त, सुरक्षित र दुर्घटनारहित बनाउने तयारी भइरहेको बताउनुभयो ।

दसँै, तिहार र छठपर्वका लागि अन्य समयको तुलनामा सुरक्षा गस्ती, सुरक्षा जाँचलगायत सुरक्षाकर्मीको सङ्ख्यासमेत बढाएको जनाइएको छ । उपत्यका प्रवेश गर्ने नाकाहरूमा तालिमप्राप्त कुकुरसहितको चेकजाँच, बैङ्क, व्यापारिक महल र मुख्य बजार क्षेत्रमा सुरक्षा अप्रेसन चलाइनेछ ।

त्यस्तै राज्यका विशिष्ट व्यक्ति, मठमन्दिर, शक्तिपीठहरूमा पनि मजबुत सुरक्षाव्यवस्था मिलाइएको छ । दसैँतिहार सुरक्षाका लागि महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश केसीको कमान्डमा पाँच हजार ४३७ जनशक्ति परिचालन गरिएको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत काठमाडौँ जिल्लाका लागि वरिष्ठ प्रहरी उपरीक्षकको कमान्डमा तीन हजार २०, ललितपुरमा प्रहरी उपरीक्षकको कमान्डमा ६५८ र भक्तपुरका ५८५ जना सुरक्षाकर्मी परिचालन गरिएको र ८२० जना सुरक्षाकर्मी रिजर्भका रूपमा राखिएको जानकारी परिसरले दिएको छ । केही दिनअघि क्षेत्रपाटीबाट बरामद ८८ किलो अवैध सुनको कारोबारमा संलग्न रहेको अभियोगमा थप पाँच जनालाई पक्राउ गरिएको जानकारी गराइयो । बा. १७ च ६४२७ नम्बरको गाडीमा लुकाइराखेको अवस्थामा उक्त सुन बरामद भएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दिवस लोहनीका अनुसार पक्राउ पर्नेहरूमा न्युरोड रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका सञ्चालक गणेशदत्त बडू, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सञ्चालक सत्यनारायण अग्रवाल, बाङ्गेमुढास्थित शाक्य सुनचाँदी पसलका सञ्चालक शुभरत्न शाक्य, इन्द्रचोक ओटुस्थित सिद्धनाथ सुनचाँदी खार्नीका सञ्चालक उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका सञ्चालक नन्दकुमार मर्गले छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने लगेज ब्याग चोरी तथा ट्याक्सीको ठगी पनि नियन्त्रणमा आएको छ । महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रहरी नायब महानिरीक्षक पङ्कज श्रेष्ठले बडी क्यामेराको सहयोगमा लगेजब्याग तथा ब्यागको जिप तोडेर हुने चोरी नियन्त्रण गरिएको जानकारी दिनुभयो ।

त्यस्तै यात्रु चढाउन हारालुछी गर्ने ट्याक्सी चालकलाई कारबाही गरी ग्राहक खोज्ने नाममा ट्याक्सीबाट बाहिर निस्केर यात्रुलाई दुःख दिन नपाउने र यात्रु आफूखुसी ट्याक्सी वा बसमा जाने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।