२९ भदौ, एजेन्सी ।

मलेसियाको राजधानी क्वालालाम्पुरको एक धार्मिक स्कूलमा आगो लाग्दा शिक्षक र विद्यार्थी गरी कम्तीमा २५ जनाको मृत्यु भएको छ । जलान दातुक केरामत क्षेत्रमा रहेको विद्यालयमा विहान सबेरै आगो लागेको हो ।

आगलागीमा परि २३ विद्यार्थी र २ वार्डेनको मृत्यु भएको शहरको अग्नि तथा उद्दार विभागका निर्देशकलाई उद्यृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ । मृत्यु हुनेमा ५ देखि १८ वर्षसम्मका बालबालिका रहेका छन् ।

यो २० वर्षपछिकै ठूलो क्षति पुग्ने आगलागी भएको अधिकारीहरुले बताएका छन् । आगलागीको कारण खुल्न सेकेको छैन । स्कूल बाहिर विद्यार्थीका अभिभावक जम्मा भएका छन् । प्रधानमन्त्री नजिब रजाकले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

अधिकारीहरुले निजी धार्मिक विद्यालयमा श्रृंखलावद्ध आगलागीको कारण खोज्नुपर्नेमा जोड दिएका छन् । सन् २०१५ यता मात्रै २ सयभन्दा बढी विद्यालयमा आगो लागेको समाचारमा जनाइएको छ ।