अन्तिम मतपरिणाम सार्वजनिक नभएपनि भरतपुर महानगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाहको जित शुनिश्चित भईसकेको छ । किनकी गणना हुन बाँकी मतभन्दा उनको अग्रता बढी छ । त्यसैले उनको जित निश्चित भएपनि उनले त्यसको खुशीयाली मनाउन पाएकी छैनन् ।

भरतपुर घटना अहिले सर्वोच्च अदालतमा विचाराधिन छ । असार १४ अघि भरतपुर १९ मा पुनः मतदान वा पुनः मतगणना ? के भनेर निर्णय हुने अवस्था छैन । जितको घोषणा नभएपनि पार्वती शाहको व्यस्तता निक्कै बढेको छ । यसै सन्दर्भमा नेपाली हेडलाइन्सका लागि बोमलाल गिरीले उनै पार्वती शाहसँग कुराकानी गरेका छन् :

कहिले के काममा व्यस्त हुनुहुन्छ ?
काम त धेरै छन् । म कांग्रेसको महिला संघको जिल्ला अध्यक्ष पनि हो । महिलासँग सम्बन्धि अरु पनि धेरै काम भइरहन्छन् । तर मुख्यतः भरतपुर १९ नम्बर वडामा फेरी मतदान नै हुन्छ भनेर घरदैलो कार्यक्रममा नै बढी व्यस्त भएकी छु ।

मतपरिणामका आधारमा त तपाईले जितिसक्नु भएको थियो । तर आधिकारिक रुपमा विजयी घोषणा भइसक्नु भएको छैन । जितेर पनि जितको खुशीयाली मनाउन नपाउँदाको अनुभव कस्तो हुदोरहेछ ?

जित त भइसकेको नै हो । घोषणा हुन मात्र बाँकी थियो । अहिले बधाई खाने क्रम चलिरहेको छ । मलाई उपमेयरको रुपमा होइन, मेयरकै रुपमा बधाई आइरहेको छ । चितवनका कुनै पनि नगरपालिकामा कांग्रेसले मेयर र उपमेयर जितेको छैन । म मात्र जित्न सफल भएकोले होला सबैले ‘तपाई उपमेयर होइन, मेयर नै हो’ भन्दै बधाई दिइरहेका छन् ।

आधिकारिकता नभए पनि केही दिन ढिला होला, जित मेरो निश्चित छ । जितेर पनि जिते अनुसार काम गर्न पाएको छैन । त्यसमा दुःख लागेको छ । जिम्मेवारी नपाउँदा कामको पनि जिम्मेवारी छैन । बोझ कम भएको छ ।

तपाई उपप्रमुख, प्रमुखमा महिला आउँदा काम गर्न सजिलो होला वा पुरुष ?
म नेपाली कांग्रेसको महिला संघको जिल्ला अध्यक्ष पनि हुँ । महिलाको हकहितको कुरा गर्ने, उनीहरुका पक्षमा आवाज उठाउने मान्छे । त्यसैले मलाई महिलाले नै जितेमा काम गर्न सजिलो हुन्छ जस्तो लाग्छ ।

महिला–महिला, दिदि–बहिनी भएर काम गर्न चाहन्छौं । महिलाले पनि पुरुषलेभन्दा राम्रो काम गर्न सक्दा रहेछन् भनेर देखाउनु छ । हामी काम गरेर नमूनाको रुपमा प्रस्तुत हुन चाहन्छौं । त्यसमाथि रेणु दाहाल त माओवादीको मात्र होइन, कांग्रेसको पनि उम्मेदवार हो ।

अव रेणु जिको जित्ने आधार के छ ?
हुन त यहाँको विषय अहिले सर्वोच्च अदालतमा पुगेको छ । मलाई लाग्छ सर्वोच्चले पुनः मतदानकै निर्णय गर्नेछ । त्यसैले अहिले हामी जनताको घर दैलो गरिरहेका छौं । अघिल्लो पटक समय थोरै भएकाले हरेक मतदाताको घरदैलोमा पुग्न सकेनौं । मुस्किलले ५, ७ वटा वडामा मात्र त्यो पनि कोणसभा मार्फत पुग्ने प्रयास गरेका थियौं ।

याे पनि हेर्नुस् : भरतपुर उपप्रमुखमा जित पक्का भएपछि यसरी नाचिन् पार्वती (भिडियो सहित)

जसले गर्दा मतदातालाई राम्रोसँग बुझाउन सकेनौं, केन्द्रमा भएको तालमेलका बारेमा जनतालाई भन्न सकेनौं । मतदाताले तामलेल नबुझेर वा केन्द्रको निर्णयमा असन्तुष्टि जनाएर तालमेल गरे अनुसारको प्रतिफल आउन सकेन । जसले गर्दा मैले पाए जति भोट रेणुले पाउन सकिनन् ।

अहिले मतदाताले भनिरहेका छन्, ‘रेणु नराम्रो मान्छे होइन रहेछ, हाम्रै मान्छे रहेछ । अहिले बल्ल बुझ्यौं । अव फेरी भोट हाल्ने मौका मिल्यो भने इमान्दार भएर हाल्छौं ।’ रेणुले पनि हिजो चाहेर पनि मतदातालाई भेट्न सकिन भनिरहेकी छिन । अहिले मतदाताको घरघरमा पुगिरहेकी छिन् ।

भारतपुर १९ र २० कांग्रेसको गढ हो । शहीदको रगतले पोतिएको क्षेत्र हो । म जन्मेको हुर्नेको ठाउँ हो । त्यति बेला राम्रोसँग बुझाउन नसकेकै हो । अहिले फेरी त्यो अवसर प्राप्त हुँदैछ । कांग्रेस माओवादीको गठबन्धन सरकार छ । विभिन्न जिल्लामा तालमेलले पनि निरन्तरता पाएको छ । विकास निर्माण चाहने जनताले कांग्रेस माओवादीलाई नै भोट दिन्छन् । त्यसैले रेणुको जित्ने आधार बलियो छ ।

सर्वोच्चले १९ नम्बर वडामा फेरी चुनाव गर्ने निर्णय गरयो भने कतै यो तपाईका जित हारमा परिणत हुनेत होइन ?
२० नम्बर वडाको मतपत्र बाकसमा शिल भएको छ । बाँकी रह्यो १९ वडाको । १९ वडाबाट मलाई कथैकदाचित एउटा भोट पनि आएनछ भने पनि मेरो जित त शुनिश्चित छ ।

व्यक्तिगत रुपमा देवी ज्ञवाली र रेणु दाहाललाई कसरी लिनुहुन्छ ? कसरी बुझ्नु भएको छ ?
देवी जि पहिले पनि उपमेयर भइसकेको व्यक्ति हुन् । रेणु पनि यही ठाउँको, यही ठाउँमा केही गर्नुछ भन्ने सकारात्मक सोच भएको उर्जाशिल महिला र युवा । हामी तीनै जना एकआपसमा राम्रोसँग परिचित छौं । हामी तीन फरक फरक पार्टीका व्यक्ति भएपनि व्यक्तिगत रुपमा हामी तीनै जनाको राम्रो सम्बन्ध छ ।

फेरी चुनाव हुने आशमा भोट माग्न तपाई पनि जानु भएको छ कि रेणु जि मात्र ?
म पनि गएको छु । पहिले नआएको भनेर मतदाताको गुनासो सुन्नु परेको थियो । म मेरो लागि र रेणुको लागि पनि भोट माग्न गइरहेकी छु । किनकी मेरो जित निश्चित भएपनि चुनाव त मेरो लागि पनि बाँकी नै छ नि । सकेसम्म धेरै मतान्तरले जितौं भन्ने त भइहाल्छ नि ।

सर्वोच्चले पुनः मतगणनाको फैसला गरेमा तपाईलाई कस्तो लाग्नेछ ?
सर्वोच्चले जे गरे पनि हामीले मान्नै पर्छ । सर्वोच्चको आदेश नमान्ने भन्ने त हुँदैन । तर पुनः मतदान हुन्छ होला भनेरै मतदाताको घरदैलोमा पुगेका छौं ।