Pashupati Temple१० फागुन, काठमाडौ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा गरेको छ । कोषका सदस्य सचिव गोविन्द टण्डनले आन्तरिक तथा बाह्य व्यवस्थापन पूरा गरिसकेको जानकारी दिए ।

 

आउँदो बिहीबार मनाइने शिवरात्रि व्यवस्थापनका लागि विभिन्न समिति गठन गरिएको सदस्य सचिव टण्डनले जनाए । ‘ती समितिले आ-आफ्नो जिम्मेवारी लिएका छन्,’ उनले भने । उनका अनुसार दर्शनार्थीका लागि चारवटा लाइन व्यवस्था गरिनेछ । प्रत्येक लाइनबाट भक्तजनले २० देखि ३० मिनेटसम्ममा दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको उनले बताए ।

 

सदस्य सचिव टण्डनका अनुसार सुरक्षा व्यवस्थाका लागि तीन हजार सुरक्षाकर्मी र १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने बताए । २ हजार ४ सय नेपाल प्रहरी र ८ सय सशस्त्र प्रहरी परिचालन गरिने जानकारी उनले दिए । आवश्यकताअनुसार नेपाली सेना पनि परिचालन हुने उनले बताए । आवश्यक पर्दा उपचारका लागि विभिन्न अस्पतालका चिकित्सक र नर्सहरू पनि खटिने उनले उल्लेख गरे ।

 

शिवरात्री दर्शनका लागि भारतका विभिन्न स्थानबाट साधुसन्त आउने क्रम बढेको सदस्य सचिव टण्डनले जानकारी दिए । नागा बाबा, भंगी, जोगी र अघोरी बाबा लगायतका साधुसन्तले पशुपति मन्दिरपारिको क्षेत्र रोमाञ्चित बनेको समाचार आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ । श्लेषमान्तक वन र राम मन्दिर क्षेत्रमा गाँजाले लठि्ठएका साधुहरूसँग दर्शनार्थीहरू गफिने गरेका छन् ।

 

सातायता नै पाशुवत् क्षेत्र सन्तमहात्माले भरिभराउ छ । उनीहरूको सुरक्षाका लागि कोषले सुरक्षाकर्मी परिचालन गरेको छ । भारतको ऋषिकेशबाट आएका जगदीश अघोरी बाबाले कोषले राम्रो व्यवस्थापन गरेको बताए । ‘महाशिवरात्रिको सुन्दरता नै साधुसन्त हुन्, राम्रो व्यवस्थापन गर्दै जाँदा राम्रो हुन्छ,’ उनले भने । कोषले पाँच हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरेको छ । ‘हप्ता दिन बाँकी छ, साधुसन्त आउनेक्रम बढ्दै छ,’ टण्डनले भने । गत वर्ष तीन हजारभन्दा बढी साधुसन्त आएका थिए ।

 

कोषले नाङ्गा बाबालाई पशुपति मन्दिर परिसरमा धुनी जगाई बस्ने व्यवस्था मिलाउन लागेको छ । अन्य साधुलाई कालमोचनघाट, राम मन्दिरलगायत क्षेत्रमा धुनी जगाई बस्ने व्यवस्था गरिएको छ । परम्पराअनुसार भारतबाट आउने जोगी, सन्त, महन्थलाई स्वागत तथा बिदाइ गरिन्छ । साधुसन्तको स्वागतका लागि मंगलबार झाँकीसहित नगर परिक्रमा गरिने सचिव सदस्य टण्डनले बताए ।