६ साउन , काबुल । अफगानिस्तानमा तालिवानविरुद्ध अफगान सैनिक, प्रहरी र नेटोसँग आवद्ध सैनिकले जारी राखेको कारबाहीका क्रममा ३० तालिवान लडाकूको मृत्यु भएको छ ।

संयुक्त सेनाले हिजोदेखि सुरु गरेको कारबाहीमा परी आइतबार बिहानसम्म कम्तीमा पनि ३० जना तालिवान सशस्त्र लडाकूको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत २४ घण्टाभित्र अफगानिस्तानको बाघलान, कुन्दुज, कान्दाहार र घाज्नी प्रान्तमा ती सेनाले गरेका कारबाही क्रममा २० तालिवानको मृत्यु हुनुको साथै अन्य २१ घाइते भएका छन् ।

त्यसैगरी फराह प्रान्तको बाला बुलु जिल्लामा संयुक्त सेनाले गरेको कारबाहीको क्रममा ९ तालिवानको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रान्त्तीय प्रवक्ता राउफ रहमानीले बताएका छन् ।

अफगानिस्तानमा अफगान र नेटोसँग आवद्ध सेनाले तालिवान लडाकूविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् । कारबाहीका क्रममा दिनहुँ त्यहाँका नागरिक हताहति हुने गरेको पनि समाचारमा जनाइएको छ ।

यस वर्षको जनवरीदेखि मध्य जुनसम्म तालिवान आतङ्ककारीहरुले जारी राखेका हत्या हिंसामा दुई हजार ५०० अफगान नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले हालै जनाएको छ ।

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै गर्दा तालिवान विरुद्धको कारबाहीलाई थप तीव्र पारिएको पनि समाचारमा जनाइएको छ ।

सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गरिसक्ने घोषणा सो सैन्य समूहमा संलग्न रहेका सबै देशले यसअघि नै गरिसकेका छन् । तर, हालैका दिनमा अफगानिस्तानमा जारी रहेको हिंसाको प्रकृति हेर्दा भने त्यहाँ शान्तिको आशा कमै मात्र देखिन्छ । सिन्ह्वा