१९ साउन, काठमाडौं ।

चिकित्सा शिक्षा ऐन संसदबाट तत्काल पारित गर्नुपर्ने लगायत माग गर्दै अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माईतिघरमा रिले अनसन सुरु गरिएको छ ।

केसीका जायज माग जनताको भएको भन्दै बिवेकशील पार्टी समर्थीत युवाहरुले माईतिघरमा रिले अनसन सुरु गरेका हुन् । चिकित्सा शिक्षा ऐन संसदबाट तत्काल पारित गर्नुपर्ने लगायत माग गर्दै डा. गोविन्द केसी ११ औँ पटक अनसन बसेको ११ दिन भएको छ ।

यसबिचमा पटकपटक वार्ता भएपनि कुनै निचोड भने निस्कन सकेको छैन । सरकारले डा. केसीका माग पूरा गर्ने प्रतिवद्ध रहेको बताए पनि वार्तामा उनले उठाएका माग पूरा गर्ने तयारीका साथ नआउने गरेको केसी पक्षका वार्ता टोलीका सदस्यले बताएका छन् ।

सरकारले स्वास्थ्यको ख्याल गर्दै अनसन तोड्न आग्रह गरेपनि डा.केसीले चिकित्सा शिक्षा ऐन संसदबाट पारित नभएसम्म र त्रिभुवन विश्वविद्यालयले आइओएमको अधिकार फिर्ता नगरेसम्म कुनै हालतमा अनसन नतोड्ने अडान लिएका छन् ।