१६ असोज, काठमाडौं ।

सामान्य अवस्थामा दैनिक ३५० भन्दा बढी पेट्रोलियम पदार्थ बोकेका ट्याङकर स्वदेश भित्रने गरेकामा अहिले एक दर्जनभन्दा कम ट्याङ्कर मात्र भित्रिँदा बजारमा इन्धनको चरम सङ्कट उत्पन्न भएको छ ।

भारतले अघोािषत रुपमा नेपालमाथि नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका सबै नाकाबाट न्यून मात्रामा ट्याङ्कर भित्रिँदा उपभोक्ताले सास्ती खेप्नु परेको छ ।

लामो लाम लाग्दासमेत पेट्रोलियम पदार्थ पाउन पाउने सक्ने अवस्था छैन । आयात नै नभएपछि नेपाल आयल निगम आफूसँग मौज्दात रहेको पेट्रेलियम पदार्थ वितरणमा विभिन्न उपाय अवलम्बन गर्न बाध्य भयो ।

Fuel line taxi bus

गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त बैठकपछि केही दिन पहिलेदेखि सरकारले जोर÷बिजोर प्रणाली लागू ग¥यो र सोहीअनुसार वितरणको पद्दति अपनायो । यस्तै सरकारले ट्रिपर, ट्रकलगायतलाई पनि पेट्रोलियम पदार्थ नदिने रणनीति सरकारले अख्तियार ग¥यो । आइतबारदेखि भने ट्याक्सीलाई पनि पेट्रोलियम पदार्थ नदिने भएको छ । सार्वजनिक सवारी साधनलाई मात्रै मौज्दात रहेको पेट्रोलियम पदार्थ दिने र यातायात सहज बनाउने निगमको ध्येय छ । निगमसँग एकाध दिनलाई मात्रै पुग्ने पेट्रोलियम पदार्थ मौज्दात रहेको छ । सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प, साझा र अन्य निजी क्षेत्रका पम्पलाई निश्चित कोटाका आधारमा पेट्रोलियम पदार्थ दिइआएको छ ।

पेट्रोलियम पदार्थको अभावमा नागरिकको दैनिक जीवन प्रभावित भएको छ । उद्योग धन्दा, अस्पताल र विद्यालय प्रभावित भएका छन् । सरकारले वैकल्पिक व्यवस्था गर्ने बताएपनि अहिलेसम्म सार्थक निर्णय भने हुन सकेको छैन । निगमका प्रवक्ता दीपक बरालले मौज्दात रहेको पेट्रोलियम पदार्थ व्यवस्थापन गर्न विभिन्न उपाय अपनाइएको उल्लेख गर्दै दश दिन यता भारतीय आयल निगमबाट नेपाली ट्याङ्करले तेल भर्न नपाएको बताउनुभयो । उहाँले आइतबारदेखि ट्याक्सीलाई सातामा एक पटक जोर÷बिजोर प्रणालीका आधारमा(आइतबार र सोमबार) दश लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

निगमले सामान्य रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन चारहजारदेखि ४ हजार ५०० किलोलिटर आयात गर्न आवश्यक छ । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानाकाअनुसार बीच बाटामा रोकिएका केही ट्याङ्कर तथा ग्यासका बुलेट भित्रिएपनि नयाँ ट्याङ्कर तथा बुलेटले भारतीय आयल निगममा भर्न पाएका छैनन् । शुक्रबार केही ट्याङ्कर र बुलेट भित्रिएपनि उल्लेख्य मात्रामा आयात हुन नसक्दा समस्या ज्यूँकात्यूँ रहेको छ ।

महानिर्देशक ढुङ्गानाले आयात सहज नहुँदा जनजीवन प्रभावित भएको तथा कुनै पनि भन्सार नाकाबाट आयात नभएको जानकारी दिँदै समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । यसबीचमा समस्या समाधानका लागि वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले आफ्ना भारतीय समकक्षीसँग वार्ता गर्नुभयो । राजनीतिक तथा कूटनीतिक तवरबाट पनि प्रयास नभएका होइनन् तर चाँडै सहज रुपमा नाका खुल्ने अवस्था देखिएको छैन ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने सन्दर्भमा अनौपचारिक रुपमा छलफल गरेपनि कुनै निर्णय भएको छैन । अस्पताल, नर्सिङ होम, बैंक तथा वित्तीय संस्थालगायत अत्यावश्यकीय क्षेत्रमा चौबिसै घण्टा विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणलाई सरकारले निर्देशन दिइसकेको छ । गत बुधबार मुख्यसचिव डा सोमलाल सुवेदीले प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई अत्यावश्यकीय क्षेत्रमा चौबिसै घण्टा विद्युत् उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । त्यसका लागि प्राधिकरणले आवश्यक व्यवस्था मिलाएको बताएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले निगमसँग पेट्रोलियम पदार्थ आयात गर्न वैकल्पिक व्यवस्था गर्ने प्रस्ताव गरिएको र सोही व्यवस्थाअनुसार सरकारले आवश्यक निर्देशन दिने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थ आयात गर्न विभिन्न उपाय र विकल्पमाथि छलफल भइरहेको छ । रासस