१६ असोज, काठमाडौँ।

उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले नेपाल शब्द जहिले उत्पत्ति भयो, त्यो समयदेखि नहराएकाले निरन्तर यो राज्यको अस्तित्व रहिरहने बताएका छन् ।

नेकपा (एमाले) प्यूठान–काठमाडौँ सम्पर्क मञ्चको दशौँ सम्मेलनको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।

“नेपाल राज्य चार हजार वर्षदेखि निरन्तर छ, नेपालको उत्तर र दक्षिणका राज्य चार हजार वर्षदेखि निरन्तर छैनन्, भारत एवम् आधा चीनलाई अन्यले उपनिवेश बनाउँदा नेपालको केही भू–भाग गुमे पनि पूरै नेपाललाई अधीनमा राख्न नसकेकाले अब पनि नेपाल कसैको अधीनमा जाँदैन” – उपप्रधान एवम् गृहमन्त्री गौतमले भने ।

सत्तरी वर्षको लडाईंको टुङ्गो संविधान जारी गरेर लगाएकाले अब विकास निर्माणमा ध्यान दिने बेला आएको पनि उनले बताए । अब राजनीतिक समस्या छ भन्नेहरु नेपालको अस्तित्व समाप्त गर्न चाहने सोचका भएकाले त्यस्त व्यक्तिहरुबाट सचेत हुनुपर्नेमा उनले जोड दिए ।

जनसङ्ख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्न नहुने बताउँदै उनले अहिले संविधान संशोधन गर्ने कुरामा एमाले सहमत हुन सक्दैन हुन सक्दैन” –भने । कुनै शक्तिलाई खुसी बनाउनकै लागि संसद् सचिवालयमा संशोधनको प्रस्ताव दर्ता गरिएको आरोप पनि उनले लगाए ।

भारतले अघोषित नाकाबन्दी लगाएर पेट्रोलियम पदार्थ ल्याउन नदिए त्यहाँबाट आउने तरकारी, चामल र कपडा पनि चाहिन्न भनेर आत्मनिर्भर हुने बानी बसाल्नुपर्ने पनि उनले बताए । “भारतसँगको व्यापारमा वार्षिक ६५ प्रतिशत घाटा हुने भएकाले नाकाबन्दीको विकल्प खोज्न सके नेपाललाई घाटा हुँदैन”– उपप्रधानमन्त्री गौतमले भने।

कार्यक्रममा सांसदहरु हीराबहादुर केसी र धनबहादुर रायमाझी, एमाले प्यूठानका अध्यक्ष तुलसीराम शर्मा एवम् एमाले प्यूठानका नेताहरु हरि रिजाल, ध्वजविक्रम बुढामगर, वीरबहादर सिंहलगायत वक्ताले झिम्रुक एवम् माडी नदीमा विद्युत् उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए । रासस