८ चैत, काठमाडौ । राजनीतिक निकासको लागि देश चुनावमा होमिएकाले अब जसरी पनि चुनावलाई सफल पार्नुपर्ने धारणा विभिन्न राजनीतिक दलका नेताहरुले व्यक्त गरेका छन् । 

राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ सरकार गठनले बाटो खुलाएको भन्दै नेताहरुले अबको मूल लक्ष्य ताजा जनादेश भएकाले निर्वाचनलाई जसरी पनि सफल पार्नुपर्ने बताएका हुन् ।
लोकनायक गिरिजाप्रसाद कोइरालाको तेस्रो स्मृति दिवसको अवसरमा जिपी कोइराला अध्ययन केन्द्रद्वारा आज राजधानीमा आयोजना गरिएको गिरिजाप्रसाद कोइराला, दलहरुको प्रतिबद्वता र लोकतन्त्र विषयक गोष्ठीमा बोल्दै नेताहरुले सो धारणा राखेका हुन् ।
सो अवसरमा नेताहरुले नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति, संविधानसभा र लोकतान्त्रिक सङ्घर्षमा अनवरतरूपमा पुर्याएको योगदानको स्मरण गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अहिलेको प्रमुख लक्ष्य चुनाव नै भएकाले यसलाई सफल पार्नुपर्ने बताए । प्रधानन्यायाधीश नेतृत्वको सरकारलाई चुनौतीको रुपमा लिइएको र अबको वातावरण चुनावतर्फ केन्द्रित भएकाले काँग्रेस एकढिक्का भएर जाने हो भने मुख्य दलको रुपमा निर्वाचनमा परिणाम ल्याउने सभापति कोइरालाले विश्वास व्यक्त गरे ।
उनले स्वर्गीय गिरिजाप्रसाद कोइराला सिद्धान्त, आदर्श र सङ्घर्षप्रतिको निष्ठाका कारण राजनेताको गौरव कायम गर्न सफल भएको बताए ।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले अनवरत सङ्घर्ष, स्वाभिमान र सिद्धान्तप्रतिको निष्ठाले नै गिरिजाप्रसाद कोइरालाको राजनीतिक व्यक्तित्व उचाइमा पुगेको बताए । उनले अहिलेको सङ्क्रमणकालीन राजनीतिमा गिरिजाबाबुको अभाव खड्केको धारणा राखे ।
नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले एमाले, काँग्रेसजस्ता पार्टीले बहुमत नल्याएका कारण संविधानसभाबाट संविधान बन्न नसकेको बताउँदै अब संविधान बनाउनेलाई निर्वाचनमा जिताउन आग्रह गरे । उनले आवश्यकता अनुसार हतियार पनि उठाउन सक्ने र शान्तिको लागि पहल गर्न सक्ने तथा अनवरत सङ्घर्ष र निष्ठाले गिरिजाप्रसाद कोइरालाको व्यक्तित्वलाई चम्किलो र उचाइमा पुर्याएको धारणा राखे ।
एनेकपा (माओवादी)का नेता अमिक शेरचनले लोकतन्त्रलाई सुदृढ गर्न, प्राप्त उपलब्धिलाई संस्थागत गर्न असारभित्रै चुनाव हुनुपर्ने र कुनै पनि बहानामा चुनावलाई पर धकेल्न नहुने बताए । उनले देश, जनता, लोकतन्त्र, सार्वभौमिकता, राष्ट्रियताका सन्दर्भमा गिरिजाप्रसाद कोइरालाको जस्तो नेतृत्वको अभाव अहिले देखिएको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीले अब मुलुक निर्वाचनतर्फ गएकाले नयाँ जनमतबाट लोकतान्त्रिक संविधान बनाउने अभियानमा अघि बढ्नुपर्छ भने ।
अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा नेविसङ्घका पूर्व अध्यक्षद्वय विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले शान्ति, संविधानसभा र लोकतन्त्रकाप्रति पुर्याउनुभएको योगदानको स्मरण गरेका थिए । रासस