३ मंसिर, ललितपुर । कम्युनिस्ट पार्टी स्थापनाकालदेखि नै पाटनको सहरी क्षेत्रमा कम्युनिस्टको प्रभाव सुरु भएको हो। नरबहादुर कर्माचार्य (कम्युनिस्ट पार्टी संस्थापकमध्येका एक), तुलसीलाल अमात्य, देवेन्द्रलाल श्रेष्ठ पाटनकै थिए। कम्युनिस्ट पार्टीको प्रभाव कतिसम्म थियो भने २०१५ सालको संसदीय चुनाव दुई तिहाई बहुमतसहित कांग्रेसले जित्दा पनि पाटनमा कम्युनिस्ट पार्टीका उम्मेदवार तुलसीलाल अमात्यले कांग्रेसका आशाराम शाक्यलाई हराएका थिए।

चुनावी अभियानमा ललितपुर ३ का उम्मेदवार कांग्रेसका कृष्णलाल अमात्य र माओवादी केन्द्रकी पम्फा भुसाल ।

पञ्चायतमा राजनीतिक पार्टीहरू प्रतिबन्धित भए पनि पाटनमा कम्युनिस्ट पार्टीको संगठन विस्तार भइरह्यो। कम्युनिस्ट नेताले सेल्टरको लागि पुलिस/गुप्तचरको नजर हत्तपत्त नपर्ने घना नेवार बस्ती रोजेका थिए। त्यसमा पाटन पहिलो रोजाइ हुन्थ्यो। झलनाथ खनाल, सुरेन्द्र पाण्डेलगायत एमाले नेताको लामै सूची बन्छ, जसले पाटनमा सेल्टर मात्र लिएनन्, ससुराली नै बनाए। मनमोहन अधिकारी पनि पाटनतिरै डेरा लिएर बस्थे। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पञ्चायतमा सेल्टर र संगठन विस्तारको फल कम्युनिस्टले ०४६ सालको राजनीतिक परिवर्तनपछि पटक-पटक पाए। ०४८ सालको आम चुनावमा ललितपुरका तीन वटै क्षेत्रमा वामपन्थीले जिते। ०४९ सालको स्थानीय चुनावमा ललितपुरको मेयर/उपमेयर त कांग्रेसले जित्यो, जिल्ला विकास समिति एमालेको भागमा पर्‍यो। ०५१ सालको चुनावमा ललितपुरका सबै क्षेत्रमा एमालेले जित्यो। ०५६ सालमा एमाले फुटेर दुई पार्टी चुनावमा लड्दा पनि कांग्रेसलाई शून्य हात लाग्यो। तीन वटै क्षेत्र एमालेले जित्यो। ०६४ सालमा एमाले हार्‍यो तर कांग्रेसले पनि जितेन। तीन वटै सिटमा माओवादीले कब्जा जमायो।

कम्युनिस्टको बलियो किल्लामा दोस्रो संविधानसभा चुनावमा चमत्कार भयो, ललितपुरका सबै क्षेत्रमा कांग्रेस भारी मतान्तरले विजयी भयो। यसपालि ललितपुर २ र ३ मा कांग्रेस चार वर्षअघिकै नतिजा आउनेमा आशावादी छ भने वाम गठबन्धन उक्त नतिजा उल्टिने आसमा छ। ललितपुर २ ज्यापू बहुल क्षेत्र हो। यसपालि पनि कांग्रेस-वाम गठबन्धन दुवैका उम्मेदवार महर्जन छन्। ललितपुर २ मा कांग्रेसले निवर्तमान सांसद चन्द्र महर्जनलाई उतारेको छ। ०५६ सालमा एमालेको टिकटमा निर्वाचित र ०७० सालको संविधानसभा चुनावमा तेस्रो स्थानमा पुगेका कृष्णलाल महर्जन वाम गठबन्धनबाट उम्मेदवार छन्।

चार वर्षअघि माओवादीका उम्मेदवारलाई ११ हजारभन्दा बढी मतान्तरले चन्द्रले जितेका थिए। माओवादी केन्द्र र एमालेको मतभन्दा दुई हजार बढी भोट पाएका चन्द्र यसपटक पनि जित्ने दाबी गर्छन्। कांग्रेसको नेतृत्वमा संविधान बनेकाले मतदाताको प्रमुख अपेक्षा पूरा भएको उनको दाबी छ। यसबाहेक मतदातासँग जोडिएका र सकेसम्म विकास निर्माणका काममा सक्रियता देखाएकाले वाम गठबन्धनमाथि आफू हाबी हुने उनको विश्लेषण छ।

वाम गठबन्धनका उम्मेदवार कृष्णलाल गठबन्धनको कारण वामपन्थीको किल्ला ललितपुरमा आफ्नो जित सुनिश्चित ठान्छन। ‘फुटेर जनतामा गएकाले यसअघि हामीलाई दण्ड दिएका थिए’, उनको दाबी छ, ‘यसपटक मिलेका छौं, मतदाता कम्युनिस्ट पार्टीप्रति उत्साहित छन्।’ पाटन यसै पनि खुला म्युजियम हो। यसको पुनःनिर्माण आफ्नो प्राथमिकतामा रहेको कृष्णलाल बताउँछन्।

बढ्दो आवादीका कारण ट्राफिक जाम, प्रदूषणले पाटनबासीको जीवन कष्टकर बन्दै गएको छ। पानीको समस्याले पनि पाटनवासीलाई पिरोलेको छ। ‘पानीको दीर्घकालीन समस्या समाधानमा सक्रिय हुनेछु’, उनी भन्छन्। लुभु-लामाटार हुँदै तराई पुग्ने सडक विस्तारको काम सुरु भइसकेको र त्यसलाई छिटो पूरा गर्न लागिपर्ने उनले सुनाए।

सांसद भएपछि सडक निर्माणमा ठूलै बजेट पार्न सफल भएको चन्द्र दाबी गर्छन्। आर्थिक वर्ष ०७०/७१ मा ८२ वटा र ०७१/७२ मा एक सय दुई वटा सडकमा बजेट पारेको थिएँ। ‘जनताको सम्पर्कमा रहिरहेकाले घरदैलोमा पुग्दा अरू त जितेपछि मुखै देख्न पाइन्नथ्यो, तिमी त आएका छौ, सक्ने गरेका छौ, भोट फरक पर्दैन भनेका छन’, चन्द्र आशावादी छन्।

कुपण्डोलबाट बुङमती-खोकनासम्म तन्किएको ललितपुर ३ मा निवर्तमान सांसद मदन अमात्य नै कांग्रेस उम्मेदवार छन्। पहिलो संविधानसभामा माओवादीबाट जितेकी पम्फा भुषाल वाम गठबन्धनको उम्मेदवार छिन्। चार वर्षअघि एमाले उम्मेदवारलाई हराएका अमात्य यसपालि पनि सजिलै जित्ने दाबी गर्छन्। ‘खोइ मेरो त कम्पिटिसन नै नहोला जस्तो छ’, उनी भन्छन, ‘वाम गठबन्धनको उम्मेदवारप्रति वितृष्णा छ।’ भुषालचाहिँ अमात्यले सिन्को नभाँचेकाले आफूलाई जित्न सजिलो भएको दाबी गर्छिन्। ‘मेरो जितमा कुनै शंकै छैन’, उनी भन्छिन्, ‘मतान्तर कति भन्ने मात्र हो।’ उनी पनि वाम गठबन्धनका कारण मतदातामा उत्साह भरिएको दाबी गर्छिन।

अमात्यले सजिलै दाबी गरे पनि विकास निर्माणमा चासो नदेखाएको मतदाताको गुनासो छ। उनी ललितपुर कांग्रेसको सभापति पनि हुन्। उनले सहरको खानेपानी समस्या समाधान गर्ने, सडक कालोपत्रे गर्ने र सडक विस्तारमा परेका जग्गाधनीलाई मुआब्जा दिलाउने बाचा गरेका छन्। अमात्यको क्षेत्रमा चासो नदेखाएको गुनासो व्यापक छ, तैपनि ललितपुर महानगरपालिकाका चिरिबाबु महर्जन साथमा हुनुको फाइदा उनलाई छ।

ललितपुर ३ को प्रदेशसभा ‘क’ मा नवराज महत र ‘ख’ मा शिवराम बानियाँ कांग्रेसका उम्मेदवार छन्। वाम गठबन्धनले ‘क’ मा राजकाजी महर्जन र ‘ख’ मा जीवन खड्कालाई उठाएको छ।